पर्वतारोही निर्मल पुर्जाको अन्त्येष्टि बेलायतमा हुने

पर्वतारोही निर्मल पुर्जाको अन्त्येष्टि बेलायतमा हुने


ग्लोब नेपाल
0
Shares

मुस्ताङ । पाकिस्तानको ब्रड पिकमा भएको हिमपहिरोमा परी निधन भएका विश्वविख्यात कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को अन्तिम बिदाइ बेलायतमा हुने भएको छ।

गत साउन १४ गते ब्रड पिक आरोहणका क्रममा गएको भीषण हिमपहिरोमा परी निधन भएका पुर्जा १० सदस्यीय आरोही टोलीको नेतृत्व गरेका थिए । उनको परिवार बेलायतको लन्डनमा रहेकाले धार्मिक परम्पराअनुसार अन्त्येष्टि उतै गरिने भएको हो।

स्वर्गीय पुर्जाको शव साउन १७ गते पहिचान भए पनि मौसम प्रतिकूल हुनुका साथै अन्य आरोहीको शवभन्दा निकै अप्ठ्यारो स्थानमा रहेकाले बुधबार दिउँसो मात्रै बेसक्याम्पमा ल्याइएको थियो।

बेलायतमा रहेका पुर्जाका दाजु कमलबहादुर पुर्जाले धार्मिक परम्पराअनुसार लन्डनमा अन्त्येष्टि गरिएपछि जन्मभूमि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना तथा बाल्यकाल बिताएको चितवनमा समेत उनको सम्झनामा काम गरिने बताए । ‘भाइको सम्झनामा विश्व स्तब्ध छ। हामीले बुहारी र छोरीलाई सहज हुने गरी अन्त्येष्टिको व्यवस्था गर्नुपर्ने अवस्था छ। अन्त्येष्टिको मिति तय गर्न विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ,’ उनले भने।

स्वर्गीय पुर्जाको कम्पनी एलिट एक्सपिडिसनले बुधबार जारी गरेको विज्ञप्तिमा ‘निम्स’ पुर्जा, निमा शेर्पा, झोङ वाङ र किलु शेर्पाको शव अत्यन्त चुनौतीपूर्ण उद्धार अभियानपछि ब्रड पिकबाट निकालेर सुरक्षित रूपमा बेसक्याम्पमा ल्याइएको उल्लेख छ। ती शव शुक्रबार राति वा शनिबारसम्म लन्डन पुर्‍याइने जनाइएको छ।

लन्डनमा पनि अन्तिम विदाईका लागि आवश्यक कानुनी प्रक्रियासहितका कार्य पूरा गर्न केही समय लाग्ने बताइएको छ। हिमपहिरोमा ज्यान गुमाएका आरोहीको शव संकलनमा पाकिस्तान सरकार, पाकिस्तान आर्मी, ब्रिटिस हाइ कमिसन, गिल्गिट–बाल्टिस्तान सरकार, नेपाल दूतावास र अल्पाइन क्लब अफ पाकिस्तानले सहयोग गरेका थिए।