देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छः शशांक कोइराला

देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छः शशांक कोइराला

देउवा फर्किनेबारे प्रहरीले भन्योः हामी हेर्दैछौं


ग्लोब नेपाल
540
Shares

काठमाडौं । कांग्रेसका नेता ड. शशांक कोइरालाले पार्टीका निर्वतमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किंदा धरपकड भए पार्टीले कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन ।

शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिँदै कोइरालाले साउन २९ देखि ३१ गतेसम्म हुने भेलामा देउवा पनि सहभागी हुने बताएका हुन । देउवा साउन २६ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनले जानकारी दिएका छन ।

देउवालाई सरकारले धरपकड गर्न सक्ने सम्भावनाबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा कोइरालाले त्यस्तो अवस्था आउने सम्भावना नरहेको बताए ।

तर, धरपकड गरिए पार्टीले त्यसको कडा प्रतिवाद गर्ने उनले चेतावनी दिएका छन । पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएकोप्रति खुशी व्यक्त गर्दै कोइरालाले अदालतको पछिल्लो आदेशको स्वागत गरे ।

देउवाको तर्फबाट दायर न्यायिक पुनरावलोकनको निवेदनमा सर्वोच्च अदालतले साउन २१ गते पुनरावलोकनका लागि अनुमति दिएको थियो । अदालतको निर्णयले आगामी न्याय निरूपणबाट कांग्रेसले न्याय पाउने विश्वास थप बलियो भएको कोइरालाले बताए ।

सर्वोच्चको पछिल्लो निर्णयले राष्ट्रिय भेलाको कार्यदिशामा कुनै परिवर्तन नल्याउने बरु कांग्रेसका नेता–कार्यकर्तामा थप उत्साह पैदा गरेको उनले बताए ।

उनले भने, ‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई वैचारिक र सांगठनिक रूपमा एकताबद्ध बनाउन यो भेला कोशेढुंगा सावित हुनेछ ।’ यसअघि भेलामा १० देखि २० हजारसम्मको सहभागिता हुने अनुमान गरिएको थियो ।

तर सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि पार्टी पंक्तिमा सकारात्मक सन्देश गएको र भेलामा अपेक्षाभन्दा उल्लेख्य सहभागिता हुने अवस्था बनेको उनले बताएका छन ।

पत्रकारहरूले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालाको सहभागिताबारे पनि प्रश्न गरेका थिए । जवाफमा कोइरालाले खड्का अस्वस्थ रहेका र शेखर कोइराला विराटनगरमा आफ्नै काममा व्यस्त रहेकाले भेलामा उपस्थित हुन नसक्ने बताएका छन । यद्यपि, दुवै नेताको अभियानप्रति पूर्ण समर्थन र ऐक्यबद्धता रहेको उनको दाबी थियो ।

देउवा फर्किनेबारे प्रहरीले भन्योः हामी हेर्दैछौं
पूर्व प्रधानमन्त्री एवं कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा छिटै स्वदेश फर्किने उनीनिकट नेताहरूले बताइरहेका छन् ।

गत भदौमा भएको जेनजी आन्दोलनमा गम्भीर घाइते भएका देउवा यतिबेला उपचारको क्रममा हङकङमा रहेका छन् । उनी यही साउन २६ गते साँझ स्वदेश फर्किने तालिका छ ।

देउवा फर्किने विषयमा नेपाल प्रहरीले पनि अध्ययन गरिरहेको बताएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा देउवा नेपाल फर्किनेबारे सोधिएको प्रश्नमा प्रहरी प्रवक्ता अबिनारायण काफ्ले भन्छन्, ‘हामी हेर्दैछौं। बुझ्ने काम हुँदैछ ।’