काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५ औँ राष्ट्रिय महाधिवेशनका लागि तय भएको मिति कुनै पनि हालतमा तलमाथि गर्न नसकिने बताएका छन् ।
आईतवार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले अगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने गरी तय गरिएको कार्यतालिका नै अन्तिम भएको भएको बताएका हुन ।
उनले पार्टी विधान र कानून अनुसार पार्टीले तय गरेको कार्यतालिका परिवर्तन गर्ने अधिकार कसैलाई नभएको तर्क गरे । पार्टीको वृहत्तर एकताका लागि छुटेका नेता तथा कार्यकर्तालाई पार्टी सदस्यता अद्यावधिक प्रक्रियामा सहभागी गराउन कार्यतालिकामा आवश्यक हेरफेर र सहजता अपनाउँदा केही समय लागेको पनि उनको भनाइ छ ।
सभापति थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरावलोकन आदेशलाई सामान्य रूपमा लिएको भन्दै पुनः न्यायालयको सामना गर्ने बताए । उनले पार्टीको विधानसम्मत भएको विशेष महाधिवेशनलाई यसअघि नै निर्वाचन आयोग र सर्वोच्च अदालतले वैधानिकता दिइसकेको भन्दै डराउनुपर्ने अवस्था नरहेको बताए ।
उनले १५ औँ महाधिवेशनलाई निष्पक्ष र पारदर्शी बनाउने कुरामा समेत जारी बैठकमा छलफल गर्नुपर्ने बताएका छन् ।


प्रतिक्रिया