काठमाडौँ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर भएको दाबी गर्दै नियमित महाधिवेशनबाटै नेतृत्व चयन हुनुपर्ने बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सिंहले विशेष महाधिवेशन नगर्न आफूहरूले यसअघि नै आग्रह गरेको उल्लेख गरे। नियमित महाधिवेशनको समय आइसकेकाले लोकप्रिय र कार्यकर्ताको समर्थन प्राप्त नेताले त्यही प्रक्रियाबाट नेतृत्व लिनुपर्ने उनको भनाइ थियो।
‘हामीले विशेष महाधिवेशन नगरौँ, यसले पार्टी कमजोर हुन्छ भनेकै थियौँ,’ नेता सिंहले भने, ‘नियमित महाधिवेशनको समय आइसक्यो, नियमित महाधिवेशनमै जो नेता लोकप्रिय छ, कार्यकर्तालाई रिझाएको छ, उसैले जितेर नेतृत्व गर्छ । त्यसले पार्टी बलियो हुन्छ भनेका थियौँ ।’
सिंहले विशेष महाधिवेशनपछि काँग्रेस कमजोर भएको र पार्टी फुटको अवस्थामा पुगेको दाबीसमेत गरे। उनले विशेष महाधिवेशनलाई अवैधानिक रहेको टिप्पणी गर्दै त्यससम्बन्धी आफ्नो धारणा सर्वोच्च अदालतको पूर्ण इजलासको आदेशबाट पनि सम्बोधन भएको जिकिर गरे।
‘अहिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश सम्मिलित बेञ्चले नै भन्यो-विशेष महाधिवेशनमा विधि प्रक्रिया पालन भएन । निर्वाचन आयोगले केही नहेरी, अर्को पक्षको कुरा नसुनी निर्णय गर्यो भनेर,’ उनले भने ।
काँग्रेसको आधिकारिकतासम्बन्धी विवाद निरूपणका क्रममा आफ्नो पक्षले न्याय पाउने विश्वास पनि सिंहले व्यक्त गरे।


प्रतिक्रिया