काठमाडौँ । सर्वोच्च अदालतले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई उनको घर तथा कार्यालयबाट बरामद गरिएका सञ्चार सामग्रीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै दायर बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले उनलाई सोमबार सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिएको हो।
श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले बिनाआधार र कारण पक्राउ गरिएको दाबी गर्दै थुनामुक्तिको मागसहित सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सोही रिटमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले श्रेष्ठसँगै उनको घर तथा कार्यालयबाट बरामद गरिएका सामग्रीसमेत उपस्थित गराउन भनेको हो।
श्रेष्ठलाई राति घरबाट पक्राउ गरिएको थियो। पक्राउपछि जिल्ला अदालत काठमाडौँले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
श्रेष्ठको घरमा प्रहरीले पुन: खानतलासी गरी सीसीटीभी रेकर्डरसमेत नियन्त्रणमा लिएको जनाइएको छ। त्यस्तै, उनको कार्यालयबाट छ थान कम्प्युटर सीपीयू, एउटा मनिटर र एउटा मोबाइल नियन्त्रणमा लिइएको छ।
यसअघि पक्राउका क्रममा घरबाट बालबालिकाले प्रयोग गर्ने ल्यापटप र मोबाइलसमेत प्रहरीले लगेको जनाइएको छ। अब श्रेष्ठको पक्राउ तथा हिरासतको कानुनी आधारसम्बन्धी बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा थप सुनुवाइ हुनेछ।



प्रतिक्रिया