सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त


ग्लोब नेपाल
0
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का खगराज भट्ट नियुक्त भएका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख मियाँसमक्ष मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै दाबी पेस गरेका थिए ।

यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । उनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका थिए ।

तोकिएको समयभित्रै नेकपा र नेकपा एमालेका सांसदहरूको समर्थनमा भट्टले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

भट्टको नियुक्तिसँगै शुक्रबार दिउँसो ३ बजे शपथ ग्रहणको कार्यक्रम तय गरिएको नेकपाका एक सांसदले जानकारी दिए । मुख्यमन्त्री भट्टले शुक्रबार नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन् ।

नेकपा र एमालेबीच सुदूरपश्चिममा यसअघि नै मन्त्रालय बाँडफाँटमा सहमति भइसकेको छ । सहमतिअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालय पाउनेछ ।