आईजीपी र सांसद नोकझोक: संसदीय मर्यादाका सम्बन्धमा विवाद बढाउँदै

आईजीपी र सांसद नोकझोक: संसदीय मर्यादाका सम्बन्धमा विवाद बढाउँदै


ग्लोब नेपाल
0
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि गरेको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् ।

शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीकै आधारमा कसैलाई दोषी करार गर्न नमिल्ने बताएका हुन् । आरोप लाग्दैमा कसैको चरित्र हत्या गर्न नहुने भन्दै उनले उजुरीकै भरमा दोषी करार गर्नु गलत भएको टिप्पणी गरे ।

‘कसैलाई एउटा उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन । आरोप हो, जो कसैले पनि लगाउन सक्छ। त्यसको आधारमा कसैको चरित्र हत्या गर्न पाइँदैन,’ उनले भने, ‘इट इज नट गुड। हाम्रो गृह मन्त्रालयको पनि यसमा ध्यानाकर्षण भएको छ । वि आर नट ह्याप्पी अबाउट इट ।’

उनले प्रहरी नेतृत्व र कर्मचारीहरू सरकारको लक्ष्य प्राप्तिमा अहोरात्र खटिरहेको भन्दै उनीहरूको मनोबल गिराउने काम नगर्न गुरुङले आग्रह गरे ।

गत बुधबारको सार्वजनिक लेखा समितिको बैठकमा निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको भनी सार्वजनिक लेखा समितिमा परेको उजुरीका सम्बन्धमा छलफल गर्नका लागि गृह सचिव राजकुमार श्रेष्ठ, आईजीपी कार्की, सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेललगायतका अधिकारीलाई बोलाइएको थियो ।

बैठकमा रास्वपा सांसद सुनारले प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीलाई नैतिकताको विषयसँग जोड्दै प्रहरी प्रमुख लगायतमाथि गम्भीर प्रश्न उठाएका थिए । सुनारले नेपाल प्रहरी प्रमुख दानबहादुर कार्की लगायतमाथि प्रश्न उठाउँदै सम्बन्धित पदाधिकारीलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान गर्नुपर्ने धारणा राखेका थिए ।

उनले भनेका थिए, ‘छानबिन गरौँ, छलफल तितो हुन्छ । समितिमा गम्भीर विषयमा छलफल हुनुपर्छ । म सिपाहीको पक्षमा छु, तल्लो वर्गको पक्षमा छु, ‘सुनारले भनेका थिए, ‘तत्कालीन गृहमन्त्री (ओमप्रकाश अर्याल), गृह सचिव र आईजीपीलाई तत्काल सेवाबाट निलम्बन गरेर जिम्मेवारीबाट हटाउनुपर्छ । उहाँहरूलाई जिम्मेवारीबाट बाहिर ल्याएर यो विषयमा छानबिन गर्नुपर्छ । नैतिकता छ भने तपाईँहरूले पद छोड्नुपर्छ । कानुनी राज्य हो भने बर्खास्त गरिनुपर्छ । यो आजै, अहिले नै हुनुपर्छ ।’

आईजीपी कार्कीले कर्मचारीहरूको निष्ठा र संस्थाको गरिमामा आँच आउने गरी हुने टिप्पणीप्रति असन्तुष्टि व्यक्त गरेका थिए । उनले आजसम्म निष्ठापूर्ण काम गरेको व्यक्तिलाई ल्याएर जे मन लाग्यो त्यही भनेको भन्दै असन्तुष्टि जनाएको थिए ।

‘आजसम्म निष्ठापूर्ण काम गर्‍या मान्छेलाई ल्याएर अब यहाँ ल्याएर जे मन लाग्यो त्यही भन्या छ । जे मन लाग्यो त्यही भन्ने स्थान होइन होला त, कुनै पनि ठाउँको एउटा सामान्य मर्यादा त हुन्छ होला नि । एउटा त्यो पनि मैले भन्दै छु,’ उनले भनेका थिए, ‘त्यसैले अलिकति हाम्रा पनि निवेदन परेका छन् नि । सबैका पर्‍या निवेदन यस्तैगरी आउँदाखेरि गाह्रै पर्छ । अब म पनि सोच्दै छु, ल्याऊँ कि क्या हो ।’

सांसद सुनार भने संसदीय समितिको बैठक बिचमै छोडेर हिँडेका थिए । आफूबाहेकका अन्य सांसदले आमन्त्रित सचिव र प्रहरी प्रमुखहरूप्रति नरम भाव देखाएको भन्दै उनी बैठक कक्षबाट बाहिरिएका थिए ।

सांसद सुनारले त्यसयता आईजीपी कार्कीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा लेख्दै आएका छन् । उनको यो रवैयाले संसदीय मर्यादाका सम्बन्धमा विवाद बढाउँदै लिएको छ । उनले संसदीय समिति र सामाजिक सञ्जालमा आईजीपी कार्की र संस्थाप्रति गरेका टिका टिप्पणीलाई लिएर सभामुख डीपी अर्याल, रास्वपा सभापति रवि लामिछाने, गृहमन्त्री गुरुङदेखि अन्य सांसदहरु रुष्ट बनेका छन् ।

आज मात्रे सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनारले आफूमाथि गरेको व्यवहारबारे ध्यानाकर्षण गराउन आईजीपी कार्कीले सभामुख अर्यालसँग भेट गरेका छन् । यसअघि बिहीबार मात्रै सभामुख अर्यालले लेखा समितिमा सांसद र आमन्त्रित प्रहरी प्रमुखबीच भएको सवाल-जवाफका सम्बन्धमा समिति सभापति र सचिवलाई बोलाएर जानकारी लिएका थिए । उनले समितिमा सांसदहरूले शिष्ट भाषामा विषयवस्तु राख्नुपर्ने बताउँदै सांसदहरूले संसदीय समितिमा पदीय मर्यादा ख्याल गर्नुपर्ने पनि बताएका थिए ।

त्यस्तै, यसबारे रास्वपा सभापति लामिछानेले पनि चासो राखेका छन् । लामिछानेले बिहीबार पार्टीका सचेतक प्रकाशचन्द्र परियारलाई बोलाएर उक्त विषयमा जानकारी लिएका हुन् ।

त्यस्तै, नेपाल प्रहरी पूर्व प्रहरी संगठन प्रमुख मञ्चले सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनारले व्यक्त गरेको अभिव्यक्तिप्रति खेद व्यक्त गरेको छ। अवकाशप्राप्त सबै प्रहरी प्रमुखहरूको संगठनले बिहीबार विज्ञप्ति जारी गर्दै यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । सरकारी एवं संस्थागत विषयका सम्बन्धमा उठ्ने समसामयिक राष्ट्र र जनसरोकारका मुद्दाहरू तथा तिनका उजुरीउपर मुलुकको लघु संसदका रूपमा रहेका संसदीय समितिहरूमा यथेष्ट छलफल र निर्मम बहस हुनु वाञ्छनीय भएको पनि पूर्व प्रहरी प्रमुखहरुले बताएका छन् ।

यतिमात्रै होइन, सुरक्षा निकायसँग सांसद सुनारले देखाएको शैली र अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ। तर, सुनार भने अझै रोकिएका छैनन् । उनले बिहीबार मात्रै सामाजिक सञ्जाल फेसबुकमा गम्भीर आरोप लागेको व्यक्तिले बयान दिनुको सट्टा प्रवचन दिएको बताएका छन् ।