वीपीलाई आफू अनुकूल प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ: गगन थापा

वीपीलाई आफू अनुकूल प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ: गगन थापा


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले पछिल्लो समय वीपी कोईरालाका विचारलाई आफू अनुकूल व्याख्या गर्ने प्रवृत्ति बढेको बताएका छन्।

आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा उनले वीपी कोइरालाको सम्पूर्ण राजनीतिक जीवन, विचार र मूल्यलाई नहेरी आफूलाई आवश्यक परेको सन्दर्भमा मात्रै बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति काँग्रेसभित्र देखिएको बताएका हुन् ।

पछिल्लो समय काँग्रेसका नेताहरूले आफ्नो राजनीतिक आवश्यकता पूरा गर्न ‘राष्ट्रिय मेलमिलाप’को प्रसंगमा वीपी कोइरालालाई सम्झने गरेको टिप्पणी गरे । काँग्रेस ईतरपक्षलाई लक्षित गर्दै उनले नेताहरूले आफ्ना राजनीतिक निर्णय आफैँ गर्न नसकेर बिपीको नामको सहारा खोजेको आरोप लगाए।

आफूलाई जहाँ चाहिन्छ, त्यहाँ वीपी कोइरालालाई प्रयोग गर्ने प्रवृत्तिले बिपीको वास्तविक विचारलाई कमजोर बनाउने उनको भनाई छ । बिपी कोइराला र गणेशमान सिंहलाई कुनै परिवार वा सीमित समूहभित्र मात्र सीमित गर्न नहुने उनले बताए।

बिपीको आह्वानमा आफ्नो परिवार र व्यक्तिगत जीवन त्यागेर राजनीतिक आन्दोलनमा होमिएका पुरानो पुस्ताका अभियन्ताहरूले लेख्ने पुस्तक, दिने अभिव्यक्ति र सुनाउने अनुभवले बिपीको वास्तविक विचार र राजनीतिक यात्रालाई बुझ्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

उनले भने, पछिल्लो समयको हाम्रो परम्परा के रह्यो भने आफूलाई जहाँ निर चाहिन्छ, बिपी कोइरालालाई त्यहाँ निर प्रयोग गर्ने । म अहिले पनि हेरिरहेको छु, सुनिरहेको छु, ठाउँ ठाउँमा भएका छलफलहरूमा, वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको सन्दर्भ अहिले एकदम व्यापक आइरहेको छ । नेताहरूले फेरि रातारात वीपीलाई सम्झनुभएको छ ।

बिपीको राजनीतिक जीवन लामो र निरन्तर विकसित भएको उल्लेख गर्दै उनले लोकतन्त्र र सामाजिक न्यायप्रतिको बिपीको मूल प्रतिबद्धता कहिल्यै परिवर्तन नभएको बताए । आर्थिक विकासका विषयमा पनि बिपीका विचारलाई एउटै प्रसंगमा सीमित गर्न नहुने उनको भनाइ छ ।

उत्पादन, ग्रामीण विकास, साना उद्योग र प्रविधिको प्रयोगबारे बिपीले फरक समयमा राखेका धारणालाई अहिलेको विकास बहस र कृत्रिम बुद्धिमत्ता (एआई) को सन्दर्भसँग समेत जोडेर अध्ययन गर्न सकिने उनले बताए।