काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको अधिवेशन प्रक्रिया मङ्गलवारदेखि प्रारम्भ हुने जानकारी दिएका छन् ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमवार आयोजित केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
थापाले पार्टीको विधानले तोकेको समयसीमाभित्रै अधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे । उनले सबै पक्षलाई समेटेर अगाडि बढ्ने प्रयास भइरहेको बताउँदै आगामी असोज महिनाभित्रै अधिवेशन सम्पन्न गरिने प्रस्ट पारे । अधिवेशन पश्चात् पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुका साथै प्रदेश र स्थानीय सरकारका कामहरूमा प्रभावकारी रूपमा केन्द्रित हुने उनले बताए ।
सोही अवसरमा सभापति थापाले आगामी भदौ २४ गतेदेखि काँग्रेसले ‘राष्ट्रिय अभियान’ सुरु गर्ने घोषणा समेत गरे ।
सभापति थापाले भने ‘भोलिबाट हाम्रो अधिवेशनको प्रक्रिया प्रारम्भ हुँदै छ । यसबीचका केही दिनमा पनि सबैलाई जोड्ने प्रयास गर्नेछु । यसका लागि सबैको साथ र सहयोग आवश्यक छ । हामी सकेसम्म सबैलाई समेटेर अघि बढ्नेछौँ । तर पार्टीको संविधान र विधानले तोकेको समयसीमाभित्र अधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले समयको सीमालाई पनि ध्यान दिनुपर्छ ।’
लोकतान्त्रिक प्रक्रियामा हार र जितलाई स्वाभाविक रूपमा लिनुपर्नेमा जोड दिँदै उनले पार्टीको बृहत्तर हितका लागि सबै नेता तथा कार्यकर्ताको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया