काठमाडौं । कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ले न्याय पाउने आशासहित आफू छोरीसहित मातृभूमि फर्किएको बताएका छन्। तर‚ दुई महिनासम्म राज्यका विभिन्न निकायमा धाउँदा पनि आफ्नो समस्या समाधान हुन नसकेको भन्दै उनले पुनः विदेश फर्किन बाध्य भएको बताए।
धुर्मुसले सामाजिक सञ्जालमा लेखेका छन्,‘यो पटक त १०० प्रतिशत हामीले न्याय पाउनेछौं, आफ्नै माटोमा दुःख–सुख साट्नेछौं र पहिलेजस्तै फेरि हजुरहरूलाई हँसाउनेछौं भन्ने ठूलो सपना बोकेर छोरीसहित मातृभूमि फर्किएको थिएँ,’ उनले लेखेका छन्।
धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुर महानगरपालिका रामपुरमा रहेको रामपुर कृषि तथा वन विश्वविद्यालयको २० बिघा जमिनमा ३० हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण थालेको थियो। तर, अत्याधिक ऋण लागेको भन्दै बिचैमा अलपत्र पारेर उनी अमेरिका उडेका थिए।
नेपाल फर्किएपछि उक्त ऋण उठाउन दुई महिनासम्म अथक प्रयास गर्दै राज्यका विभिन्न निकायमा न्यायका लागि गुहारे पनि आफ्नो आवाज सुनुवाइ नभएको उनले बताएका छन्। उल्टै भरतपुर महानगरपालिकाबाट विनियोजित १५ करोड रुपैयाँसमेत फ्रिज हुने अवस्था आएको उनको दाबी छ।
‘१८ करोड ४३ लाखको भारी, अधुरा सपना र मनभरिको पीडा बोकेर आफ्नै मातृभूमिबाट फेरि फर्किन बाध्य भएको छु,’ उनले लेखेका छन्। आफ्नै देशमा न्याय खोज्दा आफ्नो आवाज बेवारिसे भएको अनुभूति भएको बताउँदै धुर्मुसले देश र समाजका लागि इमानदारीपूर्वक केही गर्ने सपना बोकेकाहरूको नियति यस्तै हुन नहुने बताएका छन्।
१० वर्ष आफ्नो उर्वर समय समाज र राष्ट्रका लागि समर्पण गर्दा राज्यबाट पाएको प्रोत्साहनप्रति पनि उनले भावुक असन्तुष्टि व्यक्त गरेका छन्। यद्यपि‚ राज्यले कुनै दिन आफ्नो पीडा सम्झिने र समयले सत्य बोल्ने आशा भने अझै बाँकी रहेको उनको भनाइ छ।
‘कुनै दिन राज्यले सम्झिनेछ। समयले सत्य बोल्नेछ। हाम्रो पीडा सुनिनेछ,’ उनले लेखेका छन्। आफूहरू फेरि आफ्नै देशमा फर्किने आशा व्यक्त गर्दै धुर्मुसले समर्थक तथा शुभेच्छुकप्रति माया र सम्मानसमेत व्यक्त गरेका छन्।


प्रतिक्रिया