बारा । जीतपुर सिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले पथलैया–वीरगन्ज सडकखण्ड अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्।
बालिकाको हत्यामा संलग्नलाई कडा कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै स्थानीय तथा आफन्तले बुधबार बिहानैदेखि सडकमा प्रदर्शन थालेका हुन्। प्रदर्शनका क्रममा सडकमा टायर बालेर यातायात अवरुद्ध गरिएको छ।
प्रदर्शन जारी रहँदा पथलैया–वीरगन्ज सडकखण्डमा सयौँ सवारीसाधन रोकिएका छन्। सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधन लामो समयदेखि अलपत्र परेका छन्।
प्रदर्शनकारीले बालिकाको हत्यामा संलग्न दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने भन्दै कडा कानुनी कारबाहीको माग गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी पीडित परिवारलाई न्यायको अनुभूति हुने गरी कारबाही गर्न माग गरेका छन्।
प्रहरीका अनुसार साउन ३१ गतेदेखि बेपत्ता भएकी गरिमा सोही दिन हत्या भएको खुलेको हो। घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकामध्ये एक आरोपितले प्रहरीसमक्ष बालिकाको हत्या गरेको बयान दिएको जनाइएको छ। बालिकाको हत्यापछि स्थानीयमा आक्रोश बढेको छ। दोषीलाई तत्काल कडा कारबाही गर्नुपर्ने माग गर्दै स्थानीयले सडकमा उत्रिएर प्रदर्शन जारी राखेका हुन्।


प्रतिक्रिया