काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शनका लागि शनिबार मुस्ताङ जाने कार्यक्रम छ। उनको भ्रमणको सूचना प्राप्त भएसँगै जिल्लामा आवश्यक तयारी तथा सुरक्षा व्यवस्था कडा पारिएको छ।
सडकमार्ग हुँदै शुक्रबार काठमाडौँबाट पोखरा पुगेका प्रधानमन्त्री शाह शनिबार मुस्ताङतर्फ प्रस्थान गरेका हुन् । उनी कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको भिलेजबाट बिहान साढे ९ बजे सडकमार्ग हुँदै मुस्ताङतर्फ प्रस्थान गरेका हुन् । तर उक्त बाटो पहिरो खसेर अवरुद्ध भएको बताइएको छ ।
प्रधानमन्त्री शाहको यो निजी तथा पारिवारिक भ्रमण भएकाले अनौपचारिक सूचनाका आधारमा मुस्ताङको प्रवेशद्वार घाँसादेखि नै सुरक्षा व्यवस्था कडा बनाइएको छ। कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकखण्डको म्याग्दी क्षेत्रमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले आवश्यक सुरक्षा तयारी गरेको छ भने मुस्ताङतर्फ पनि सुरक्षा व्यवस्था सुदृढ पारिएको छ।
प्रधानमन्त्री शाह शनिबार जोमसोममा बसोबास गरी आइतबार बिहान मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने जानकारी प्राप्त भएको मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका कार्यालय प्रमुख दिनेश भुसालले बताए । उनले भने, ‘प्रधानमन्त्री आउने सूचना पाएपछि हामी तयारीमा जुटेका छौँ। विशेष पूजा गर्न चाहनुभयो भने त्यसका लागि पनि आवश्यक सबै तयारी गरिएको छ।’


प्रतिक्रिया