प्रधानमन्त्री र प्रधानन्यायाधीशको पोखरा भ्रमण सँगसँगै, योजनाबद्ध कि संयोग ?

प्रधानमन्त्री र प्रधानन्यायाधीशको पोखरा भ्रमण सँगसँगै, योजनाबद्ध कि संयोग ?


ग्लोब नेपाल
0
Shares

पोखरा । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा गण्डकी प्रदेशका विभिन्न अदालतको निरीक्षणमा व्यस्त छन् । नियमित अनुगमनका क्रममा पोखरा पुगेका शर्माले अदालतको न्याय सम्पादन, मुद्दाको अवस्था र भौतिक पूर्वाधारबारे जानकारी लिइरहेका छन् ।

शुक्रबार उच्च अदालत पोखरा र कास्की जिल्ला अदालतको निरीक्षण गरेका शर्माले न्यायाधीश तथा कर्मचारीसँग छलफलसमेत गरेका छन् । विशेष गरी जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका अदालत भवनको पुनर्निर्माण, अदालत सञ्चालनमा देखिएका समस्या र सेवा प्रवाहका विषयमा उनले चासो राखेका छन् ।

शनिबार प्रधानन्यायाधीश शर्माले उच्च अदालत पोखराको बागलुङ इजलाससँगै पर्वत, म्याग्दी र बागलुङ जिल्ला अदालतको निरीक्षण गर्ने कार्यक्रम छ । आइतबार तनहुँ जिल्ला अदालतको निरीक्षण गर्ने कार्यसूची रहेको उच्च अदालत पोखराका उपरजिस्ट्रार नीलप्रसाद पनेरुले जानकारी दिएका छन् ।

पनेरुका अनुसार प्रधानन्यायाधीशको भ्रमण नियमित निरीक्षणकै क्रममा भएको हो । मातहतका अदालतमा पुगेर त्यहाँको वास्तविक अवस्था बुझ्ने, न्यायाधीश तथा कर्मचारीका समस्या सुन्ने र समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्य भ्रमणको रहेको उनले बताए ।

यसैबीच, प्रधानन्यायाधीश शर्मा गण्डकीका अदालत निरीक्षणमा रहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह पनि पोखरामा पुगेका थिए । शाह शुक्रबार निजी भ्रमणका लागि पोखरा आएका थिए भने शनिबार सडकमार्ग हुँदै मुस्ताङतर्फ लागेका छन् ।

प्रधानमन्त्री र प्रधानन्यायाधीश एकै दिन पोखरामा रहेपछि उनीहरूबीच भेटवार्ता भएको हुनसक्ने चर्चा पनि चलेको छ । तर, उनीहरूबीच भेट भएको वा नभएको विषयमा भने अहिलेसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन ।

प्रधानमन्त्री शाह पोखरा हुँदै मुस्ताङतर्फ अघि बढिरहँदा प्रधानन्यायाधीश शर्मा भने सोही क्षेत्रका अदालतको निरीक्षणमा छन् । दुवै उच्च पदस्थ व्यक्ति एकै समयमा गण्डकीमा रहेकाले उनीहरूको भ्रमणलाई लिएर चासो बढे पनि प्रधानन्यायाधीश शर्माको भ्रमण भने न्यायालयको नियमित अनुगमनमै केन्द्रित रहेको देखिएको छ ।