काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री डा. महावीर पुनले सामाजिक सञ्जालमा आफू मस्त निदाइरहेको भिडियो सार्वजनिक गरेका छन् । राष्ट्रियसभा बैठकमा उनी निदाएको दृश्य भाइरल बनेपछि पुनले व्यंग्यात्मक शैलीमा आफू ओछ्यानमा सुतिरहेको भिडियो फेसबुकमा राखेका हुन्।
उनले राष्ट्रियसभा बैठकको उक्त भिडियोको स्क्रिनसट राख्दा १० घण्टामै २४ लाख भ्यु पुगेको र त्यसबाट १३६ अमेरिकी डलर आम्दानी भएको बताएका छन् । ‘हिजो राष्ट्रियसभाको हलमा आँखा झिमिक्क भएको भिडियोको स्क्रीनसटको फोटो हाल्दा १० घण्टामा २४ लाख भ्यु भएछ र १३६ डलर कमाइ भएछ,’ उनले भनेका छन् ।.
उनले आफू साँच्चिकै ओछ्यानमा सुतेको भिडियो पनि धेरैभन्दा धेरैले हेरेर कमेन्ट गरिदिन आग्रह गरेका छन् ।
‘भात खाने पैसा आउँछ,’ उनले व्यंग्य गर्दै भनेका छन् । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा पुन मस्त निदाएको दृश्य कैद भएको थियो । उक्त दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि उनको निदाएको विषयलाई लिएर विभिन्न प्रतिक्रिया आएका थिए ।
राष्ट्रियसभा संघीय संसद्को माथिल्लो सदन हो । यहाँ विधेयक, सरकारका कामकारबाही तथा समसामयिक सार्वजनिक विषयमा छलफल र प्रश्नोत्तर हुने गर्छ । यही बैठकका क्रममा पुन निदाएको दृश्य भने सामाजिक सञ्जालमा चर्चाको विषय बनेको हो ।


प्रतिक्रिया