महाधिवेशनका सबै प्रक्रिया रोक्नुपर्छ: पूर्णबहादुर खड्का

महाधिवेशनका सबै प्रक्रिया रोक्नुपर्छ: पूर्णबहादुर खड्का


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन रोक्न आफूले सर्वोच्च अदालतमा रिट दायर गरेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

खड्काले सामाजिक सञ्जालमार्फत आफू वा आफ्नो तर्फबाट सर्वोच्च अदालतमा कुनै रिट दर्ताका लागि नगएको स्पष्ट पारेका छन् । संवेदनशील विषयमा अनुमानका आधारमा समाचार सम्प्रेषण नगर्न र सामाजिक सञ्जालमा भ्रम नफैलाउन उनले आग्रह गरेका छन् ।

उनले पुनरावलोकनबाट मुद्दाको अन्तिम किनारा नलागेसम्म कांग्रेसको १५औँ महाधिवेशनका सबै प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत जाने विषयमा कानुन व्यवसायीसँग गम्भीर परामर्श भइरहेको बताएका छन् ।

खड्काले आफूहरू चाँडै नै रिट–निवेदन लिएर सर्वोच्च अदालत जानेसमेत स्पष्ट पारेका छन् ।

उनले भनेका छन्, ‘सम्मानित सर्वोच्च अदालतले पुनरावलोकनबाट मुद्दाको अन्तिम किनारा नलगाउँदासम्म नेपाली कांग्रेसको १५औँ महाधिवेशनका सबै प्रक्रिया रोकिपाउँ भनी कानुनी प्रबन्धबमोजिम रोक्काका लागि सर्वोच्च अदालतमा रिट–निवेदन लिएर जाने विषयमा हामी कानुन व्यवसायीसँग गम्भीर परामर्शमा छौँ ।’