एल्चेविरुद्ध बार्सिलोनाको ५-० जीत

एल्चेविरुद्ध बार्सिलोनाको ५-० जीत



स्पेनिस च्याम्पियन बार्सिलोनाले आफ्नो ला लिगाको पहिलो खेलमा एल्चेमाथि ५–० को सहज जित हासिल गरेको छ । यस खेलमा राफिन्हा र फर्मिन लोपेजले दुई दुई गोल गरे भने एन्थोनी गोर्डनले आफ्नो डेब्यु खेलमै दुई गोलका लागि अवसर सिर्जना गरेका थिए ।

मार्तिनेज भ्यालेरो स्टेडियममा बार्सिलोनाले कमजोर देखिएको एल्चे विरुद्ध सहज जित निकाल्ने क्रममा करिम एडेयेमीले पनि आफ्नो डेब्यु खेलमै गोल गरेका थिए । विश्वकपपछि टोलीको लय फर्काउने क्रम जारी रहँदा हान्सी फ्लिकले नियमित रूपमा खेल्ने केही खेलाडीहरूलाई बेन्चमा राखेर खेलको सुरुवात गरेका थिए।

स्पेनको विजयी टोलीका मुख्य सदस्य तथा युवा विंगर लामिन यामलले दायाँतर्फबाट खेल सुरु गरे पनि उनी आफ्नो उत्कृष्ट लयमा देखिएनन् यद्यपि, बार्सिलोनाको समग्र उत्कृष्ट प्रदर्शनका कारण उनको यो सामान्य प्रदर्शनले खासै फरक पारेन।

खेलको १४औँ मिनेटमा भिक्टर चुस्टले पेनाल्टी बक्स भित्र राफिन्हालाई लडाए पछि प्राप्त पेनाल्टीलाई राफिन्हाले गोलमा परिणत गर्दै फ्लिकको टोलीलाई अग्रता दिलाउन सफल भए  ।

एल्चेको खतरनाक आक्रमणलाई विफल पार्न एरिक गार्सिया रक्षापंक्तिमा चुस्त देखिए भने मिडफिल्डमा गाभीले सबैको ध्यान ताने यद्यपि उनको चर्चा खेल प्रदर्शन भन्दा पनि स्पेनको जितको खुसीयाली मनाउन गरिएको गुलाबी रङको कपालका कारण बढी भयो।

बायाँतर्फ खेलिरहेका तीव्र गतिका विंगर अदेयेमीले खेलको सुरुवात केही कमजोर ढंगले गरे पनि बिस्तारै लय समाते । राफिन्हाको निस्वार्थ पासमा गोल गर्दै उनले मध्यान्तर अघि नै बार्सिलोनाको अग्रता दोब्बर बनाए।

दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका न्युक्यासल युनाइटेडका पूर्व विंगर गोर्डनले उत्कृष्ट र प्रभावशाली प्रदर्शन गर्दै राफिन्हालाई उनको दोस्रो गोलका लागि अवसर मिलाइ दिए र त्यसपछि लोपेजलाई गोलको मौका सिर्जना गरिदिँदै बार्सिलोनाका लागि चौथो गोलमा योगदान पुर्‍याए।

युवा खेलाडी जाभी एस्पार्टले लोपेजका लागि बल उपलब्ध गराए, जसले चोटका कारण स्पेनको विश्वकप विजयमा सहभागी हुन नपाएर कठिन गर्मीयाम बिताएका थिए । लोपेजले गरेको उक्त दोस्रो गोलले बार्सिलोनाको सहज जित सुनिश्चित गर्‍यो।

फ्लिकको ‘हाई लाइन’ डिफेन्समा कहिलेकाहीँ उनीहरूको सामान्य कमजोरी देखियो तर गोलकिपर जोन गार्सियाले टोलीको गोल नखाएरै खेल टुंग्याउने जिम्मेवारी सफलतापूर्वक पूरा गरे।

खेलपछि राफिन्हाले पत्रकारहरूलाई भने, ‘खेल सजिलो हुन्छ कि कठिन, त्यो हामीमै भर पर्छ। यदि हामीले आफ्नो उत्कृष्ट स्तरमा खेल्न थाल्यौं भने जित्ने सम्भावना बढी हुन्छ। यो निकै कठिन खेल थियो, तर हामीले आफ्नो काम गर्‍यौं।’