काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत थापाले २०७४ सालदेखि नै हरेक वर्ष लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आवाज उठ्दै आए पनि अहिलेसम्म प्रतिवेदन सार्वजनिक हुन नसकेको बताएका हुन् ।
उनले राजनीतिक दलहरूले सरकारमा जानुअघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाउने तर सरकारमा पुगेपछि कार्यान्वयन गर्न नसक्ने अवस्था दोहोरिँदै आएको उल्लेख गरेका छन् ।
‘अब त एक दशक बित्न लागिसक्यो,’ थापाले भनेका छन् । २०७३ सालमा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोग (लाल आयोग) ले बुझाएको प्रतिवेदन हालसम्म सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य पूर्ण रूपमा बाहिर आउन नसकेको र पीडितहरू न्याय पाउनबाट वञ्चित भएको उनको भनाइ छ ।
विगतका सरकारले प्रतिवेदन सार्वजनिक गर्न नसकेको कमजोरीलाई अब पनि प्रतिवेदन सार्वजनिक नगर्ने कारण बनाउन नहुने थापाले बताएका छन् । ‘यसपटक यो विषय प्रतिबद्धतामा मात्र सीमित नहोस्,’ उनले भनेका छन् ।
थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अब थप विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका छन् । ‘सत्य जान्ने अधिकार नागरिकको हो, न्याय पाउने अधिकार पीडितको हो,’ थापाले भनेका छन् ।


प्रतिक्रिया