नेकपाको भाँडभैलोले बागमतीका मुख्यमन्त्रीको विश्वासको मत प्रक्रिया स्थगित

नेकपाको भाँडभैलोले बागमतीका मुख्यमन्त्रीको विश्वासको मत प्रक्रिया स्थगित


ग्लोब नेपाल
0
Shares

हेटौंडा । सत्तारूढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको भाँडभैलोका कारण बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने प्रक्रिया नै स्थगित भएको छ ।

मुख्यमन्त्री थापामगरले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका थिए । तर, सत्ता साझेदार नेकपाका असन्तुष्ट सांसदहरू बैठकमा अनुपस्थित भएपछि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिँदा प्रक्रिया अघि बढ्न सकेन ।

नेकपाभित्रको असन्तुष्टिको मुख्य कारण राजावादी दल राप्रपासँग गरिएको सत्ता सहकार्य, सत्ता साझेदारीमा पारदर्शिता नदेखिएको, मन्त्री छनोटमा निश्चित विधि र मापदण्ड नअपनाइएको तथा सरकारमा सहभागी गराउने विषयमा पार्टीभित्र पर्याप्त छलफल नभएको विषयलाई मानिएको छ ।

एक सांसदका अनुसार राप्रपाबाट सरकारमा सहभागी मन्त्रीभन्दा नेकपाका आर्थिक मामिलामन्त्री सरल सहयात्री पौडेलको मर्यादाक्रम तल राखिएको विषयमा समेत सांसदहरू असन्तुष्ट छन् ।

नेकपाका गंगानारायण श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, उर्मिला लामा, कृष्ण खनाल, लक्ष्मण लम्साल र राजेन्द्रमान श्रेष्ठ विश्वासको मत लिन सोमबार बोलाइएको प्रदेशसभा बैठकमा उपस्थित भएनन् ।

मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न प्रदेशसभाको तत्काल कायम सदस्य संख्याको बहुमत अर्थात् ५३ सांसदको समर्थन आवश्यक पर्छ। तर सत्ता साझेदार दलकै सात सांसद अनुपस्थित भएपछि मुख्यमन्त्रीका लागि विश्वासको मत जुटाउने प्रक्रिया संकटमा परेको हो ।

असन्तुष्ट सांसदहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ र संसदीय दलका नेता शालिकराम जमकट्टेलसँग छलफलमा छन् । जमकट्टेलले विवाद समाधान हुने र मंलबारका लागि सारिएको विश्वासको मत दिने प्रक्रियामा सबै सांसदले पक्षमा मतदान गर्ने दाबी गरे ।

यसअघि आइतबार हेटौंडामा बसेको नेकपा संसदीय दलको बैठकमा समेतअसन्तुष्ट सांसद उपस्थित थिएनन् ।