११ सांसदका जवाफ दिँदै प्रधानमन्त्री

११ सांसदका जवाफ दिँदै प्रधानमन्त्री


ग्लोब नेपाल
0
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग भोलि भदौ १० गतेका लागि तय भएको प्रश्नोत्तरमा ११ सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन् । १५ वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले प्रश्न दर्ता गराएका छैनन् ।

रास्वपाका सांसदले ७ वटा प्रश्न दर्ता गर्न पाउने भए पनि ३ वटा मात्र दर्ता गरेका छन् । अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन्। सभामुख डोलप्रसाद अर्यालले प्रश्नोत्तरको समय तोक्दै भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देश गरेका थिए।

तोकिएको अवधिमा ११ वटा प्रश्न दर्ता भएका छन् । प्रश्नमाथि औपचारिक रूपमा भदौ १० गतेको बैठकमा प्रधानमन्त्री शाहले जवाफ दिने छन् । संसद् सचिवालयका अनुसार रास्वपाबाट अमरेशकुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बाँस्कोटाले प्रश्न दर्ता गराएका छन् ।

यस्तै प्रश्न दर्ता गर्ने अन्य सांसदमा नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरुङ छन् । यस्तै नेकपा (एमाले) का ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न दर्ता गराएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वर्षमान पुन र प्रमेश हमालले प्रश्न दर्ता गराएका छन् । श्रम संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुश्बु ओलीले प्रश्न दर्ता गराएका छन् ।

सभामुखको रुलिङ अनुसार सबै दलबाट एक–एक प्रश्नको प्रतिनिधित्व सुनिश्चित गरिएको थियो । जस अनुसार छ दलबाट छ वटा र बाँकी नौ वटा प्रश्न प्रतिनिधि सभामा भएको दलीय प्रतिनिधित्वका आधारमा भाग लगाइएको थियो । सचिवालयले दलीय कोटासहित रास्वपाबाट ७ तथा कांग्रेस, एमाले र नेकपाबाट २–२ वटा प्रश्न भागमा पर्ने जानकारी दलहरूलाई गराएको थियो ।

श्रम संस्कृति र राप्रपाले १–१ वटा प्रश्न दर्ता गर्न पाउने छन् । यसअघिका प्रश्नोत्तरमा १५ प्रश्न तोकिए पनि मागभन्दा बढी दर्ता हुने गरेका अभ्यास छन् । पहिलो पटक २०७५ माघ ४ मा भएको प्रश्नोत्तरमा दर्ता भएका १८ वटै प्रश्नको जवाफ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका थिए ।