चीनतर्फबाट आएको हिंस्रक बाढीले रसुवामा ठूलो क्षति

चीनतर्फबाट आएको हिंस्रक बाढीले रसुवामा ठूलो क्षति

तिमुरे बजार र भन्सार क्षेत्रको अवस्था अज्ञात


ग्लोब नेपाल
0
Shares

रसुवा । चीनतर्फबाट आएको अत्यन्तै हिंस्रक बाढीका कारण रसुवा जिल्ला हुँदै बग्ने भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव अस्वाभाविक रूपमा बढेको छ। बुधबार बिहान करिब साढे ८ बजेदेखि आएको बाढीले तिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो धनजनको क्षति पुर्‍याएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनास्थलको अवस्था अत्यन्तै नाजुक रहेको र प्रभावित क्षेत्र आसपास बस्नसमेत नसकिने अवस्था सिर्जना भएको एक सरकारी अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार बाढी यति हिंस्रक छ कि माथिल्लो स्थानबाट समेत तल्लो क्षेत्रको अवस्था स्पष्ट रूपमा देख्न सकिएको छैन।

“बाढी एकदमै हिंस्रक छ। हामी ज्यान जोगाएर माथितिर भागेका छौँ। तलतिरको अवस्था नाजुक छ, माथिबाट पनि केही देखिएको छैन,” ती अधिकारीले भने।

उनका अनुसार हालसम्म कति मानिस हताहत भए वा कति सम्पत्तिमा क्षति पुग्यो भन्ने यकिन हुन सकेको छैन। “त्यो वरिपरि बस्न सक्ने अवस्था नै छैन। खोलाले पुरै क्षेत्रलाई कोइरोजस्तो मण्डल बनाएको छ। माथिबाट पनि केही देखिएको छैन,” उनले भनेका छन्।

अधिकारीका अनुसार तिमुरे बजार क्षेत्रमा ठूलो क्षति पुगेको देखिएको छ। “त्यहाँ धेरै ठूलो क्षति भएको माथिबाट देखिएको छ। तिमुरे बजारतिर पनि धेरै नोक्सान भएको जस्तो देखिन्छ,” उनले भने।

रसुवा भन्सार कार्यालयको अवस्थाबारे समेत यकिन जानकारी प्राप्त हुन सकेको छैन। बाढी खोलाको किनार हुँदै सडकसम्म आइपुगेकाले भन्सार क्षेत्रको अवस्था हेर्नसमेत नसकिएको अधिकारीले बताए।

“भन्सारको अवस्था पनि माथिबाट केही देखिएको छैन। खोलाको किनारै हुँदै सडकसम्म बाढी आएको छ भने तल खोलाको अवस्था झन् गम्भीर हुने नै भयो,” उनले भने।

बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा पुगेर फोटो वा अन्य विवरण संकलन गर्नसमेत सम्भव नभएको बताइएको छ। सुरक्षा जोखिमका कारण तल्लो क्षेत्रतर्फ हेर्नसमेत नसकिएको अधिकारीको भनाइ छ।

प्रारम्भिक जानकारीअनुसार बाढी बुधबार बिहान करिब साढे ८ बजेतिर आएको हो। अहिले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायले क्षतिको विवरण संकलन र उद्धारको तयारी गरिरहेका छन्। यद्यपि, बाढीको तीव्र बहावका कारण प्रभावित क्षेत्रमा तत्काल पुग्न कठिनाइ भइरहेको बताइएको छ।

घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण भने अझै प्राप्त हुन बाँकी रहेको छ।