विदेशमा रहेका नेपाली र दाताले सिधै सरकारी राहत कोषमा सहयोग गर्न सक्ने

विदेशमा रहेका नेपाली र दाताले सिधै सरकारी राहत कोषमा सहयोग गर्न सक्ने


ग्लोब नेपाल
189
Shares

काठमाडौँ। विपद् प्रभावित नागरिकका लागि राहत तथा उद्धार कार्यमा सहयोग गर्न चाहने विदेशमा रहेका नेपाली तथा स्वदेश–विदेशका दाताले अब नेपाल सरकारको राहत कोषमा डिजिटल माध्यमबाट सिधै रकम योगदान गर्न सक्ने भएका छन्।

यसका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको छ। नेपाल क्लियरिङ हाउस लिमिटेडसँग आबद्ध उक्त प्रणालीमार्फत सहयोग रकम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

पोर्टलमा अन्तर्राष्ट्रिय तथा घरेलु कार्डबाट रकम जम्मा गर्ने विकल्प राखिएको छ। त्यस्तै, नेपालपे क्यूआर, मोबाइल बैंकिङ, कनेक्टआईपीएस, विभिन्न डिजिटल वालेट तथा अलिपे प्लसबाट समेत योगदान गर्न सकिने सुविधा उपलब्ध छ।

विपद्का बेला राहत कोषमा आर्थिक सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाका लागि सहज र प्रत्यक्ष माध्यमका रूपमा यो प्रणाली प्रयोग गर्न सकिनेछ। योगदान गर्न चाहनेले सम्बन्धित पोर्टलमा प्रवेश गरी रकम उल्लेख गरेर उपलब्ध भुक्तानी माध्यम छनोट गर्न सक्नेछन्।