काठमाडौं । आज जनै पूर्णिमा हो, आजको दिनलाई ऋषि तर्पणी र रक्षाबन्धन पनि भनिन्छ । यो हिन्दु धर्मालम्बीहरूको एक प्रमुख र पवित्र पर्व हो, जुन प्रत्येक वर्ष साउन महिनाको शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइन्छ। यस दिन वैदिक परम्परा अनुसार स्नान, दान, तर्पण र ऋषि पूजन गरिन्छ।
यसको धार्मिक मान्यता पौराणिक कथामा उल्लेख भए अनुसार दैत्यराज बलि र भगवान् विष्णुसँग जोडिन्छ । पौराणिक कथा अनुसार भगवान् विष्णुले वामन अवतार लिएर दैत्यराज बलिलाई पाताल लोक पठाए पछि बलिका लागि सुरक्षा कवचका रूपमा रक्षासूत्र बाँधिदिएका थिए, त्यसै दिन देखी यो जनैपुर्णिमा र रक्षा बन्धनको रूपमा प्रचलनमा आएको हो ।
अर्को धार्मिका मान्यता अनुसार इन्द्र र शची कथा जोडिन्छ । देवासुर संग्राममा असुरहरू विरुद्ध विजय प्राप्त गर्न देवराज इन्द्रकी पत्नी शचीले इन्द्रको नाडीमा मन्त्रिएर रक्षा सूत्र बाँधिदिएकी थिइन्, जसको प्रभावले देवताहरूले विजय हासिल गरेका थिए भन्ने मान्यता पनि रहेको छ ।
उसो त जनै पुर्णिमा वैतरणी पार गर्ने विश्वासको रूपमा पनि मनाइन्छ । जनै पूर्णिमामा बाँधिएको रक्षासूत्र तिहारको लक्ष्मीपूजाका दिन गाईको पुच्छरमा बाँध्नाले मृत्युपश्चात् वैतरणी नदी सहजै पार गर्न सकिन्छ भन्ने जनविश्वास रहेको छ।
आज के के गरिन्छ त ?
जनै फेर्ने परम्पराः तागाधारीमा पर्ने ब्राह्मण, क्षत्री आदि पुरुषहरूले अघिल्लो दिन देखि एकछाक खाएर चोखो भई, यस दिन नदी, ताल, वा कुण्डमा गई स्नान गर्छन्। त्यसपछि नयाँ ‘यज्ञोपवीत’ अर्थात जनै धारण गर्छन् र पुराना जनै त्याग्छन्। जनैका तीन धागोले ब्रह्मा, विष्णु र महेश तथा नौ वटा डोराले विभिन्न वैदिक देवताहरूको प्रतिनिधित्व गरेको हुन्छ । जस अनुसार सूर्य, चन्द्र, अग्नि, यम, वरुण, वायु, कुबेर, इन्द्र, र विश्वदेव अर्थात ब्रह्माको प्रतिनिधित्व गर्दछ ।
रक्षाबन्धन अर्थात डोरो बाँध्नेः पण्डित वा पुरोहितको हातबाट नाडीमा रक्षासूत्र अर्थात पवित्र धागो वा डोरो बाँध्ने गरिन्छ। यो डोराले प्राकृतिक प्रकोप, रोग र भयबाट रक्षा गर्छ भन्ने विश्वास छ। यस दिन बाँधिएको डोरो लक्ष्मीपूजा वा तिहारको दिन गाईको पुच्छरमा बाँध्नाले मृत्युपछि वैतरणी नदी सजिलै पार भइन्छ भन्ने धार्मिक मान्यता छ। दिदीबहिनीसँग दाजुभाइले पनि डाेराे बान्दछन् ।
ऋषि तर्पणीः यस दिन सप्तऋषिहरू कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठको पूजा आराधना गरी तर्पण दिइने भएकाले यसलाई ऋषि तर्पणी पनि भनिन्छ।
क्वान्टी खाने दिनः नेवार समुदायमा यस पर्वलाई ‘गुँ पुन्हि’ भनिन्छ। यस दिन सबैजसाे नेपालीकाे घरमा चना, बोडी, सिमी, मास, मुगी, केराउ, भटमास लगायत ९ थरीका गेडागुडी उमारेर बनाइएको विशेष परिकार ‘क्वँवाटी’ खाने चलन छ। यसले शरीरमा तागत दिने र पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ।
भ्यागुताको पूजा अर्थात ब्याँ जा नाकेगुः खेतीपातीमा सहयोग पुर्याउने, किराहरू मारेर खाने र वर्षा गराउन मद्दत गर्ने जीवका रूपमा नेवार समुदायमा भ्यागुतालाई पूजा गरी खेतमा लगेर भात गडागुडी खुवाउने परम्परा छ।
धामी झाँक्री अनुष्ठानः त्यसो त जनै पुर्णिमाका दिन धामी झाँक्री अनुष्ठान पनि गरिन्छ । जनैपूर्णिमाका दिन नेपालभरका विशेष गरी तामाङ तथा अन्य समुदायका धामी झाँक्रीहरू ढ्याङ्ग्रो बजाउँदै मन्त्र सिद्धि र शक्ति नवीकरणका लागि गोसाइँकुण्ड पुग्छन्।
यस दिन रसुवाको गोसाइँकुण्ड, काठमाडौँको पशुपतिनाथ, पाटनको कुम्भेश्वर, धनुषाको धनुषसाग र लगायतका विभिन्न पवित्र धार्मिक स्थलहरूमा विशेष मेला लाग्ने गर्दछ । जसमध्ये गोसाइँकुण्ड र जनैपूर्णिमा बीच गहिरो धार्मिक, पौराणिक तथा सांस्कृतिक सम्बन्ध छ रहेको छ।
पौराणिक उत्पत्तिको कथा अनुसार समुद्र मन्थनका क्रममा निस्किएको ‘कालकुट’ विष सेवन गरे पछि त्यसको डाहा शान्त पार्न भगवान् शिवले आफ्नो त्रिशूल हिमालमा प्रहार गरी जल उत्पन्न गराएर गोसाइँकुण्ड निर्माण गरेको धार्मिक मान्यता रहेको छ। जनै पूर्णिमाका दिन रसुवास्थित गोसाइँकुण्डमा स्नान गरी पूजा आराधना गर्नाले सम्पूर्ण पाप नाश भई मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेकाे छ ।


प्रतिक्रिया