रसुवा । भोटेकोशी बाढीबाट प्रभावित उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले विपद्को समयमा संघीय सरकारको उपस्थिति जनताले अनुभूति गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
बाढी प्रभावित क्षेत्रमै रहेका अध्यक्ष अर्यालले सामाजिक सञ्जालमा सरकारका गतिविधि देखिए पनि उद्धार तथा राहतका लागि आफूहरूले भोग्ने गरी राज्यको उपस्थिति नदेखिएको बताएका हुन् । ‘हाम्रो क्षेत्रबाट हेर्दा संघीय सरकार आकाशमा देखिन्छ, सामाजिक सञ्जालमा देखिन्छ,’ उनले भनेका छन्, ‘विपद्को अवस्थामा जनताले अनुभूति गर्ने गरी काम भएको छैन ।’
उनका अनुसार गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको छ । वेत्रावती बजार, कैदलेटार, पैरेबेसी, सल्लेटार र मैलुङ क्षेत्रमा अकल्पनीय मानवीय क्षति भएको उनको दाबी छ । टिमुरे र स्याफ्रुबेंसी क्षेत्रमा समेत ठूलो क्षति भएको उनले बताएका छन् ।
बाढीको सूचना जारी गर्न खटिएका गाउँपालिकाका चार कर्मचारी अझै बेपत्ता रहेको र सूचना तथा सञ्चार अधिकृत जनक आचार्यको शव पहिचानपछि दाहसंस्कार गरिएको अर्यालले बताएका छन् । कार्यपालिका सदस्य ज्ञानु विक तथा केही शिक्षकसमेत सम्पर्कविहीन रहेको उनले उल्लेख गरेका छन् ।
त्रिशुली–३ ‘बी’ जलविद्युत् आयोजनाका कर्मचारी तथा कामदार र माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनामा कार्यरत कोरियन, चिनियाँ, भारतीय तथा नेपाली कामदारसमेत ठूलो संख्यामा सम्पर्कविहीन भएको उनले बताएका छन् । केही व्यक्ति सुरुङभित्र फसेको खबर आइरहेको उनको भनाइ छ ।
गोसाइँकुण्ड र मानसरोवर यात्रामा निस्किएका यात्रुहरू पनि हराइरहेको भन्दै उनीहरूको आफन्तले उद्धार र खोजीका लागि हारगुहार गरिरहेको अर्यालले बताएका छन् । सडक सम्पर्क विच्छेद भएको र विद्युत् आपूर्ति बन्द भएपछि मोबाइल नेटवर्कसमेत प्रभावित हुँदा हराइरहेकाहरूसँग सम्पर्क हुन नसकेको उनले बताएका छन् ।
अध्यक्ष अर्यालले गम्भीर अवस्थामा रहेका घाइतेको उद्धारका लागि प्रधानमन्त्री कार्यालयसहित सम्बन्धित निकायसँग समन्वय गर्दा पनि हेलिकप्टर पाउन नसकेको गुनासो गरेका छन् । उनका अनुसार कालिकास्थान–जीवजीवे हुँदै घाइतेलाई १० घण्टापछि धुन्चे अस्पताल पुर्याउनुपर्ने अवस्था आएको थियो । ‘खोलाको किनारमा ५०औँ शव देखिन्छन् ।
परिवारका सदस्यले पहिचान गरेका शवसमेत दाहसंस्कार गर्न प्रहरीसँग समन्वय गर्दा माथिको आदेशबाहेक केही गर्न मिल्दैन भन्ने जवाफ पाइन्छ,’ उनले भनेका छन् ।
बाढीमा सुरक्षाकर्मीसमेत ठूलो संख्यामा बेपत्ता भएको र कालिकास्थानमा सीमित प्रहरी जनशक्ति खाना–पानीको अभावमा समेत खटिरहेको उनले बताएका छन् ।
अर्यालले विपद्को समयमा सरकारको कामभन्दा सामाजिक सञ्जालमा देखिने गतिविधि बढी भएको भन्दै राजनीतिक नेतृत्वप्रति समेत असन्तुष्टि जनाएका छन् ।
उनका अनुसार केही सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएपछि गृहमन्त्रीको सचिवालयबाट फोन गरेर ‘नकारात्मक प्रचार नगर्न’ र ‘राजनीति नगर्न’ आग्रह गरिएको थियो । त्यसको जवाफमा आफूले सरकारको उपस्थिति जनताले अनुभूति गर्ने अवस्था सिर्जना गर्न आग्रह गरेको उनले बताएका छन् ।
‘हामीले यस्तो आवाज उठाउन नपर्ने स्थिति सिर्जना गर्नुस्, हामी सरकार भएको अनुभूति गर्नेछौँ,’ उनले भनेका छन् । आफू आबद्ध नेकपा एमालेको नेतृत्वले समेत विपद् प्रभावित क्षेत्रको अवस्थाबारे प्रभावकारी रूपमा चासो नदिएको भन्दै अर्यालले असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले पार्टीका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल र गोकर्ण विष्टले मात्रै आफूलाई खोजी गरेको बताएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहित सुरेन्द्र पाण्डे लगायतका नेता तथा सहयोद्धाहरूले भने चासो र चिन्ता व्यक्त गरेको उनले उल्लेख गरेका छन् ।
एमालेको आकस्मिक सचिवालय बैठकबारे सामाजिक सञ्जालमा देखिए पनि त्यसको परिणाम मैदानमा देखिनुपर्ने उनको भनाइ छ ।
‘परिणामविहीन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौँ । यसले पीडितलाई थप पीडा दिनेछ,’ अर्यालले भनेका छन्, ‘के गर्न सकिन्छ, मैदानमै जनताले अनुभूति गर्ने गरी गरौँ। नेकपा एमालेको संस्कार र संस्कृति यही हो ।’
तीन सय ५० प्रभावित विद्यालयमा आश्रित
अध्यक्ष अर्यालका अनुसार अहिले गोसाइँकुण्ड क्षेत्रका करिब तीन सय ५० बाढी प्रभावितलाई नीलकण्ठ माध्यमिक विद्यालय, बोगटीटारमा राखिएको छ ।
कालिका र नौकुण्ड गाउँपालिकाले खाद्यान्न लगायतका सामग्री सहयोग गरेको र त्यसले करिब तीन दिन धान्ने अवस्था रहेको उनले बताएका छन् । प्रभावितहरू विद्यालयको भुइँमा म्याट्रेस ओछ्याएर रात बिताउन बाध्य छन् ।
स्थानीय बासिन्दाले केही परिवारलाई आफ्नै घरमा आश्रय दिए पनि नियमित औषधि सेवन गर्नुपर्ने बिरामी, सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक तथा बालबालिकाका लागि आवश्यक विशेष व्यवस्था गर्न नसकिएको उनले बताएका छन् ।
नदी किनारमा रहेका दर्जनौँ शव कुहिन थालेपछि बस्तीमा दुर्गन्ध फैलिएको र यसले संक्रमणको जोखिम बढाएको भन्दै उनले तत्काल शव व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् ।
बिरामीको संख्या बढिरहेको भन्दै तत्काल उद्धार र उपचारको व्यवस्था गर्नुपर्ने, पहिरोको जोखिममा रहेको तिरु क्षेत्रमा रहेका मानिसलाई सुरक्षित स्थानमा सार्नुपर्ने तथा त्रिशूली नदीको वारिपारि फसेका र परिवारबाट छुट्टिएका मानिसलाई उद्धार गरी आफन्तसँग पुनर्मिलन गराउनुपर्ने उनले बताएका छन् ।
घरबारविहीन, बेपत्ता, अभिभावकविहीन बालबालिका तथा ध्वस्त भएका निजी र सार्वजनिक संरचनाको तथ्यांक संकलन भइरहेको उनले जानकारी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारीसँग बिहीबार साँझ सम्पर्क भएको र तत्काल गर्नुपर्ने काम शुक्रबारबाट सुरु गर्ने जानकारी पाएको अध्यक्ष अर्यालले बताएका छन् । ‘स्थानीय सरकारका जनप्रतिनिधिसँग समन्वय गरेर राज्यको नजरमा ओझेल परेका यी क्षेत्रमा आजबाट काम सुरु हुनेछ भन्ने विश्वास लिएको छु,’ उनले भनेका छन्, ‘आफन्त गुमाएका र घरबारविहीन जनताले त्यसको अनुभूति गर्न पाउनेछन् ।’


प्रतिक्रिया