काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको संख्या ६ सय २६ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोसी बाढीसम्बन्धी पछिल्लो अद्यावधिक विवरण सार्वजनिक गरेको छ। शनिबार बिहान १० बजेसम्मको तथ्यांकअनुसार विभिन्न मानव अंकसहित हालसम्म ६ सय २६ जनाको शव फेला परेको छ।
प्राधिकरणका अनुसार चितवनमा २३३, नवलपरासी पूर्वमा १५८, नुवाकोटमा ५१, गोरखामा ४८, धादिङमा ४५, तनहुँमा ३१, नवलपरासी पश्चिममा ४७ र रसुवामा १३ जनाको शव फेला परेको छ।
बाढीमा परी अझै २ हजार ४ सय २६ जना सम्पर्कविहीन छन्। बेपत्ता हुनेमा ठुलो सङ्ख्या जलविद्युत् आयोजनाका कामदारहरूको रहेको छ। आयोजनाहरूबाट मात्रै ९ सय ३३ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ। सुरक्षाकर्मीतर्फ नेपाली सेनाका ४५, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना बेपत्ता छन्।
जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त विवरणअनुसार रसुवामा ५ सय ६२, नुवाकोटमा १ सय १५ र मकवानपुरमा ६५ जना सम्पर्कविहीन छन्। विदेशी नागरिक ५ सय १७ जना र बिदा मनाउन आएका विदेशमा बस्ने नेपाली १ सय २७ जनाको अवस्था पनि अज्ञात छ। भन्सार कार्यालयका १५, अध्यागमनका ४ र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि बेपत्ताको सूचीमा छन्।
विपद्ग्रस्त क्षेत्रमा खोज तथा उद्धारका लागि १५ हजार २ सय २४ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ६ हजार ७ सय ५५, नेपाल प्रहरीका ४ हजार ८ सय ११ र सशस्त्र प्रहरी बलका ३ हजार ६ सय ५८ जना खटिएका छन्।
हालसम्म ४ हजार ४ सय ५१ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये १ सय ९१ जनालाई जलविद्युत् आयोजनाको सुरुङबाट निकालिएको हो। आज मात्रै ५ सय १७ जनाको हवाई उद्धार गरिएको छ। विदेशी नागरिक १ सय २९ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
हवाई उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका १६ वटा हेलिकप्टरमार्फत ९९ उडान भरिएको छ। घाइतेमध्ये १ सय १ जनाको अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको उपचारका लागि सर्जिकल मेडिकल टिमसमेत परिचालन गरिएको छ।
बाढीले सञ्चार क्षेत्रमा पनि ठुलो क्षति पुर्याएको छ। कुल १ सय ९८ वटा टेलिफोन टावरमा क्षति पुगेकोमा मर्मतपछि १ सय ४४ वटा सञ्चालनमा ल्याइएको छ। सरकारले प्रभावित क्षेत्रमा राहत वितरणलाई पनि तीव्रता दिएको छ।
नेपाल सरकारबाट रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ। १५ वटा पालिकाका लागि ६ करोड ७५ लाख रुपैयाँ पठाइएको छ। हालसम्म ३७ ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ। हेलिकप्टरमार्फत ७ उडान गरी थप सामग्री र सञ्चार सेटहरू प्रभावित क्षेत्रमा पुर्याइएको छ।



प्रतिक्रिया