प्रधानमन्त्रीले भने- ‘प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि पहल भइसकेको छ’

प्रधानमन्त्रीले भने- ‘प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि पहल भइसकेको छ’


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बाढी र पहिरोले पुर्‍याएको क्षति तथा उद्धार कार्यका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन् ।

शनिवार प्रधानमन्त्री निवासमा भएको भेटमा नेता आङदेम्बेले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा बाढीपहिराका कारण सिर्जित अकल्पनीय अवस्थाबारे प्रधानमन्त्रीलाई अवगत गराएका हुन् ।

प्रभावित क्षेत्रको स्थलगत अनुगमन र स्थानीय नागरिक तथा प्रशासनसँगको छलफलपछि नेता आङदेम्बेले प्रधानमन्त्रीलाई भेटेका हुन् । भेटका क्रममा उनले बाढी प्रभावित क्षेत्रका बासिन्दाको अवस्था र राज्यका तर्फबाट भइरहेका कार्यहरूबारे जानकारी गराए । विशेषगरी रसुवास्थित अपर त्रिशूली आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारमा भइरहेको ढिलाइप्रति उनले चासो व्यक्त गरे। उनले मौसम प्रतिकूल रहे पनि उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरी उद्धार कार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।

जवाफमा प्रधानमन्त्रीले प्रभावित क्षेत्रमा उद्धारका लागि पहल भइरहेको र छिट्टै कार्य अगाडि बढ्ने आश्वासन दिएको नेता आङदेम्बेले सञ्चारकर्मीहरूलाई जानकारी दिए ।

उनले भने, ‘अपर त्रिशूलीका तीन वटा सुरुङमध्ये एउटामा हिजोदेखि नै उद्धार शुरु भएपनि अन्य दुई वटामा खराब मौसमका कारण कठिनाइ भइरहेको छ । विपद् भएको तीन दिन भइसकेकाले उद्धारमा थप ढिलाइ भएमा सुरुङभित्र रहेकाहरूको जीवितै उद्धार गर्ने सम्भावना क्षीण हुँदै जानेतर्फ मैले प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराएको छु ।’

नेता आङदेम्बेले शुक्रवार मात्रै प्रभावित क्षेत्रको निरीक्षण गरी त्यहाँका पीडित परिवार र स्थानीय प्रशासनसँग वस्तुस्थितिबारे जानकारी लिएका थिए ।