काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको भीषण बाढीले ठूलो धनजनमा क्षति पुर्याएको छ ।नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेना दिनरात नभनिकन उद्धारमा खटिएका छन् ।
बाढी आएको क्षेत्रका स्थानीय घरबार विहिन बनेका छन् । उनीहरुलाई खान र लाउनकै समस्या छ । चाउचाउको भरमा बाँचिरहेका छन् । यस्तो विषम् परिस्थितिमा केही माननीय भने केही न केही सङ्ग बाढी प्रभावित क्षेत्रमा पुगिरहेका छन् ।
अछामबाट समानुपातिक पाँचथरकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ज्वाला संग्रौला नुवाकोटको बाढी प्रभावित क्षेत्रमा पुगेकी थिइन् । सो क्षेत्रको सांसद नै नरहेकी उनी त्यहाँ जाँदाको भिडियो भाइरल छ । बाढी पीडितलाई उद्धार गर्न छोडेर उनलाई नै उद्धार गर्नुपर्ने अवस्था आएको थियो ।
रास्वपाका अन्य सांसद पनि बाढी प्रभावित क्षेत्र पुगेका छन् । ‘सेलिब्रेटी बन्न आउनेहरुका कारण उद्धार प्रभावित भएको’ भन्दै विरोध भएपछि रास्वपाले बाढी प्रभावित क्षेत्रमा अनावश्यक रुपमा नजान कडा निर्देशन दिएको छ ।
सांसदहरु बाढी प्रभावित क्षेत्रमा जाँदा थप असहजता निम्तिएको उल्लेख गर्दै रास्वपाले आफू रहेकै स्थानबाट समन्वय र सहयोगमा ध्यान दिन भनेको छ ।


प्रतिक्रिया