बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत प्रभावकारी बनाउन कांग्रेसको माग

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत प्रभावकारी बनाउन कांग्रेसको माग


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार, राहत तथा पुनःस्थापनाका काम प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ।

संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा तत्काल खोजी, उद्धार, उपचार तथा पुनःस्थापनाका कामलाई उच्च प्राथमिकता दिन आग्रह गरेको हो।

बैठकले बाढीका कारण ठूलो संख्यामा नागरिकको मृत्यु भएको, हजारौँ बेपत्ता तथा सयौँ घाइते भएको जनाएको छ। बाढीले नदी तटीय क्षेत्रका बस्ती, बजार, राष्ट्रिय राजमार्ग तथा अन्य सडक, पुल, जलविद्युत् आयोजना र सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति पुर्‍याएको कांग्रेसले जनाएको छ।

भौगोलिक अवस्था र सञ्चार सम्पर्क विच्छेदका कारण मानवीय तथा भौतिक क्षतिको वास्तविक विवरण अझै यकिन हुन नसकेको भन्दै कांग्रेसले बेपत्ताको खोजी, उद्धार, घाइतेको उपचार, विस्थापित परिवारको पुनःस्थापना र पीडितलाई मनोपरामर्शको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।

बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत्, सञ्चारलगायत अत्यावश्यक पूर्वाधार तत्काल पुनःस्थापना गरी प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन प्रभावकारी कदम चाल्नुपर्ने कांग्रेसको भनाइ छ।

संसदीय दलका नेता आङदेम्बेले बाढी प्रभावित क्षेत्रको स्थलगत जानकारी लिँदा तहगत समन्वयको अभाव देखिएको र उद्धार, राहत तथा पुनःस्थापनाका काम व्यवस्थित र प्रभावकारी नभएको स्थानीयको गुनासो पाएको बैठकले जनाएको छ। त्यसैले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच समन्वय गरी काम गर्न सरकारलाई आग्रह गरिएको छ।

बैठकले बाढीपीडितको तत्काल उद्धार तथा राहतका लागि संसदीय दलका नेता आङदेम्बेको एक महिनाको र नेपाली कांग्रेसका संघीय सांसदहरूको १५ दिन बराबरको तलब सहयोग गर्ने निर्णयसमेत गरेको छ।

त्यस्तै, देश विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा प्रभावित जिल्लाका समस्या र उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा सदनमा गहन छलफल आवश्यक रहेको कांग्रेसले जनाएको छ। एकीकृत सुझावसहित सरकारको ध्यानाकर्षण गराउन सदन सुचारु गर्न पनि संसदीय दलले आग्रह गरेको छ।

कांग्रेसले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, राष्ट्रसेवक कर्मचारी, संघसंस्था, सञ्चारमाध्यम तथा स्वयंसेवकलाई धन्यवाद दिएको छ। उद्धार तथा राहतमा सहयोग गर्ने मित्रराष्ट्र, संघसंस्था तथा सहयोगीप्रति पनि बैठकले आभार व्यक्त गरेको छ।

बाढीका कारण देशको प्रमुख लाइफलाइनका रूपमा रहेको पृथ्वी राजमार्ग अवरुद्ध भई यातायात तथा आपूर्ति व्यवस्था प्रभावित भएको भन्दै कांग्रेसले सुरक्षित वैकल्पिक सडकको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव, मूल्यवृद्धि तथा कालोबजारी हुन सक्ने सम्भावनालाई ध्यान दिँदै सहज र नियमित आपूर्ति सुनिश्चित गर्न, कालोबजारी नियन्त्रण गर्न तथा बजार अनुगमनलाई कडाइ गर्न पनि सरकारसँग माग गरिएको छ।