नेपालमा व्यवसायी र राज्यबीचको सम्बन्ध सधैं सहज देखिँदैन । सरकारको नजरमा व्यवसायीलाई धेरैजसो कर छल्ने, मूल्य बढाउने, नियम उल्लंघन गर्ने वा नाफा खोरी समूहका रूपमा चित्रित गरिन्छ । भने सधै सरकारी अधिकारीहरुबाट विभिन्न वाहानामा दपेटीनुपर्छ, अनुगमन, कर परीक्षण, जरिवाना, अनुमति तथा नियमनका विभिन्न प्रक्रियामा पनि व्यवसायीले आफूलाई राज्यको साझेदार भन्दा बढी शंकाको घेरामा रहेको अनुभव गर्ने गरेका छन् ।
अर्को तर्फ, आमजनताको एक हिस्साले पनि व्यवसायीको सफलता वा नाफालाई सहज रूपमा स्वीकार्न सक्दैन । महँगी बढ्दा, बजारमा अभाव हुँदा वा कुनै सेवा महँगो हुँदा व्यवसायी माथि नै पहिलो औँला उठ्ने गरेको छ । तर कसैले बुझेनन व्यपार अपार पनि हो । हामीमा व्यवसायिक अज्ञानता र वित्तीय साक्षरता का अभावका सधै र सबैले व्यवसायिलाई गालि मात्र गरेका छौं । विश्वमा देखिएका ठूला विकासका अधिकांश नमूना राज्यले प्रत्यक्ष रूपमा निर्माण गरेका होइनन् ती उद्यमशीलता, निजी लगानी, नवप्रवर्तन र व्यवसायीहरूको जोखिम उठाउने क्षमताबाट सम्भव भएका हुन् ।
उद्योग, प्रविधि, यातायात, ऊर्जा, सञ्चार, स्वास्थ्य र आधुनिक पूर्वाधारको विस्तारमा निजी क्षेत्रले अग्रणी भूमिका खेलेको छ । राज्यको मूल दायित्व भनेको स्पष्ट नीति, स्थिर कानुन, पारदर्शी नियमन, आवश्यक पूर्वाधार र लगानीमैत्री वातावरण मार्फत व्यवसायलाई अघि बढ्ने बाटो खोलिदिनु हो । जब राज्यले सहजीकरण गर्छ र निजी क्षेत्रले आफ्नो क्षमता, पूँजी तथा सिर्जनशीलता परिचालन गर्छ, तब मात्र विकासले गति लिन्छ । यो हामीले बुझनु पर्छ ।
निश्चय पनि गलत काम गर्ने व्यवसायीलाई कारबाही हुनुपर्छ । कालोबजारी, कृत्रिम अभाव, कर छली, गुणस्तरमा सम्झौता, सार्वजनिक ठेक्कामा अनियमितता वा उपभोक्ता ठगीजस्ता कार्यले समाज र अर्थतन्त्र दुवैलाई क्षति पुर्याउँछन् । यस्ता गतिविधि प्रति राज्य कडा हुनु स्वाभाविक र आवश्यक पनि हो । तर केही गलत उदाहरणका आधारमा सम्पूर्ण व्यवसायी समुदायलाई एउटै नजरले हेर्नु न्यायपूर्ण हुँदैन । भने हल्लाको भरमा व्यवसायिहरु प्रति धरपटक गर्नु , सार्वजनिक वेइज्जत गर्नु, मिडियमा अनावश्यक नकारात्मक समाचार संप्रशन गर्नु कसैलाई पनि सुहाउँदैन । व्यवसायि राष्ट्रका गहना हुन भन्ने हिजो आज देशमा परको ठूलो संकटमा व्यवसायी एक भएर राष्ट्र काँध थामेर लागेको बाट पनि प्रमाणीत हुन्छ । राष्ट्रलाई तनमन धनले आज सहयोगका बर्षा गरेका छन् ।
विपद्को समयले व्यवसायी समुदायको वास्तविक सामाजिक उत्तरदायित्व र देशप्रतिको भावना देखाउने अवसर पनि दिएको छ । बाढी, पहिरो, भूकम्प, आगलागी, महामारी वा अन्य राष्ट्रिय संकटका बेला उद्योगी, व्यापारी, निर्माण व्यवसायी, बैंक तथा वित्तीय संस्था, होटल व्यवसायी, यातायात व्यवसायी, सूचना–प्रविधि कम्पनी, स्वास्थ्य क्षेत्र तथा विभिन्न पेशागत समूहहरूले सरकारको ढुकुटीमा अर्बौँ रुपैयाँ सहयोग गरेका छन् । कतिले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेका छन्, कतिले खाद्यान्न, औषधि, लत्ताकपडा, अस्थायी आवास सामग्री तथा उद्धार सामग्री उपलब्ध गराएका छन्। कतिपय व्यवसायीले आफ्ना मेसिन, सवारीसाधन, जनशक्ति र प्राविधिक क्षमता नै उद्धार तथा पुनःस्थापनाका लागि निःशुल्क परिचालन गरेका छन्।
व्यवसायीका रूपमा विभिन्न कालखण्डमा भोगेका तिता अनुभव, संघर्ष र चुनौतीहरू आज मेरा लागि अमूल्य शिक्षा र अमृततुल्य प्रेरणा बनेका छन् । ती अनुभवले मलाई व्यवसायी समुदायको धैर्य, साहस, जोखिम वहन गर्ने क्षमता र राष्ट्रप्रतिको जिम्मेवारी अझ गहिरोसँग बुझ्ने अवसर दिएका छन् । देशको अर्थतन्त्र चलायमान बनाउन निरन्तर पसिना बगाउने सम्पूर्ण इमानदार व्यवसायीप्रति मेरो हार्दिक सम्मान, कृतज्ञता र उच्च आदर छ ।
यो सहयोग केवल दान वा प्रचारको विषय होइन । यो संकटमा राष्ट्रसँग उभिने जिम्मेवार नागरिकताको उदाहरण हो । व्यवसायीले आफ्नो मेहनत, जोखिम, लगानी र व्यवस्थापनबाट आर्जन गरेको स्रोतको एक हिस्सा राष्ट्रिय विपद्मा खर्चिनु देशप्रतिको माया र मानवीय संवेदनाको प्रमाण हो । राज्य कमजोर भएको बेला निजी क्षेत्रले साथ दिनु भनेको राष्ट्रिय एकताको बलियो सन्देश पनि हो ।
व्यवसायीको योगदानलाई केवल विपद् सहयोगमा मात्र सीमित गरेर हेर्न मिल्दैन । व्यवसायीले उद्योग चलाउँछन्, उत्पादन गर्छन्, सेवा दिन्छन्, रोजगारी सिर्जना गर्छन्, सरकारलाई कर तिर्छन् र बजारलाई चलायमान बनाउँछन् । एउटा सानो पसलदेखि ठूलो उद्योग वा निर्माण कम्पनीसम्मले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हजारौँ परिवारको आयसँग सम्बन्ध जोडेको हुन्छ । व्यवसाय बन्द हुँदा मजदुरको रोजगारी, आपूर्तिकर्ताको आम्दानी, बैंकको ऋण, सरकारको राजस्व र स्थानीय अर्थतन्त्र सबै प्रभावित हुन्छन् । त्यसैले स्वस्थ व्यवसायी क्षेत्र नै बलियो राष्ट्रिय अर्थतन्त्रको आधार हो।
नेपालमा निजी क्षेत्रलाई विकासको साझेदारका रूपमा हेर्नु आवश्यक छ । सरकारले व्यवसायीलाई केवल राजस्व उठाउने स्रोत वा नियमन गर्नुपर्ने समूहका रूपमा मात्र नभई रोजगारी, उत्पादन, प्रविधि, पूर्वाधार र आर्थिक विकासका सहयात्रीका रूपमा स्वीकार्नुपर्छ । नीति बनाउँदा व्यावहारिकता, बजारको अवस्था, लागत, जोखिम र लगानीको सुरक्षालाई बुझ्नुपर्छ । अनावश्यक झन्झट, निर्णयमा ढिलाइ, अस्थिर नीति, दोहोरो कर तथा अपारदर्शी प्रक्रियाले इमानदार व्यवसायीलाई निरुत्साहित बनाउँछ।
त्यस्तै व्यवसायी समुदायले पनि आफ्नो जिम्मेवारी अझ गम्भीर रूपमा निर्वाह गर्नुपर्छ । नाफा कमाउनु व्यवसायको स्वाभाविक उद्देश्य हो, तर नाफासँगै गुणस्तर, श्रमिकको हक, उपभोक्ताको हित, करको इमानदार भुक्तानी, वातावरणीय जिम्मेवारी र सामाजिक योगदानलाई पनि प्राथमिकता दिनुपर्छ । समाजको विश्वास जित्ने व्यवसाय नै दीर्घकालीन रूपमा सफल हुन्छ । संकटका बेला राहतमा सहयोग गर्ने, स्थानीय समुदायसँग जोडिने, विद्यालय, स्वास्थ्य, खेलकुद र वातावरणका क्षेत्रमा योगदान गर्ने व्यवसायीप्रति जनताको धारणा पनि सकारात्मक बन्दै जान्छ ।
आजको विपद्मा व्यवसायीहरूले गरेको अर्बौँ रुपैयाँको सहयोगले एउटा स्पष्ट सन्देश दिएको छ—व्यवसायी राष्ट्रबाट अलग वर्ग होइनन् उनीहरू पनि यही देशका नागरिक, परिवार र भविष्यसँग जोडिएका जिम्मेवार सदस्य हुन ्। उनीहरूको उद्योग, पसल, कार्यालय वा कम्पनी नाफाको माध्यम मात्र होइन धेरै नागरिकको रोजगारी, सम्मान र आशाको आधार पनि हो ।
अब आवश्यक कुरा आरोप–प्रत्यारोप होइन, सहकार्यको नयाँ संस्कार निर्माण गर्नु हो । सरकारले इमानदार व्यवसायीलाई प्रोत्साहन, सम्मान र सहज वातावरण दिनुपर्छ । जनताले पनि व्यवसायीलाई प्रमाणबिना नकारात्मक दृष्टिले हेर्नु भन्दा राम्रो कामको प्रशंसा गर्ने बानी विकास गर्नुपर्छ ।
व्यवसायीले आफ्नो जिम्मेवारी र पारदर्शिता बढाउनुपर्छ । विपद्को घडीमा देखिएको यही सहकार्य, सद्भाव र राष्ट्रिय भावना नै नेपालको पुनर्निर्माण तथा समृद्धिको सबैभन्दा ठूलो पूँजी हो । व्यवसायीका रूपमा विभिन्न कालखण्डमा भोगेका तिता अनुभव, संघर्ष र चुनौतीहरू आज मेरा लागि अमूल्य शिक्षा र अमृततुल्य प्रेरणा बनेका छन् । ती अनुभवले मलाई व्यवसायी समुदायको धैर्य, साहस, जोखिम वहन गर्ने क्षमता र राष्ट्रप्रतिको जिम्मेवारी अझ गहिरोसँग बुझ्ने अवसर दिएका छन् । देशको अर्थतन्त्र चलायमान बनाउन निरन्तर पसिना बगाउने सम्पूर्ण इमानदार व्यवसायीप्रति मेरो हार्दिक सम्मान, कृतज्ञता र उच्च आदर छ ।
यही राष्ट्रिय दायित्वप्रति प्रतिबद्धता जनाउँदै Bidpatra.com ले पनि आफ्नो क्षमताअनुसार राष्ट्रका लागि रु. ५१,००० सहयोग गरेको छ। यो योगदान रकमको आकारभन्दा बढी संकटका बेला निजी क्षेत्र र जिम्मेवार नागरिक सबैले राष्ट्रसँग हातेमालो गर्नुपर्छ भन्ने विश्वासको प्रतीक हो।


प्रतिक्रिया