बाढी अपडेट: १ हजार १० जनाको शव फेला, ३९ देशका करिब ५९० जना विदेशी नागरिक अझै बेपत्ता

बाढी अपडेट: १ हजार १० जनाको शव फेला, ३९ देशका करिब ५९० जना विदेशी नागरिक अझै बेपत्ता


ग्लोब नेपाल
0
Shares

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट ज्यान गुमाउन पुगेको १ हजार १० जनाको शव फेला परेको छ । परराष्ट्र मन्त्रालयले मंगलवार पत्रकार सम्मेलन गरी १ हजार १० जनाको शव फेला परेको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार ४ हजार व्यक्ति अझै बेपत्ता रहेका छन् ।

बाढी प्रभावित ११ हजार ८ सयभन्दा बढी व्यक्तिको उद्धार गरिएको उनले जानकारी दिए । उद्धार गरिएकामध्ये करिब ३२४ जना विदेशी नागरिक छन् । ३९ देशका करिब ५९० जना विदेशी नागरिक अझै बेपत्ता रहेको उनले जानकारी दिए । बाढी प्रभावितहरूको खोजी, उद्धार, स्थानान्तरण र राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।

उनकाअनुसार सरकारको तत्कालीन प्राथमिकता मानव जीवन बचाउने, बेपत्ता व्यक्तिको खोजी तथा जीवितको उद्धार, तत्काल राहत उपलब्ध गराउने र प्रभावित नेपाली तथा विदेशी नागरिकलाई आवश्यक सहयोग सुनिश्चित गर्ने रहेको छ ।

सुरुङमा फसेकाहरूको खोज तथा उद्धारका लागि भारत र चीनबाट आएका दुई टोली परिचालन गरिएको उनको भनाई छ । भारतबाट २४ सदस्यीय विशेष सुरुङ उद्धार टोली र चीनबाट नौ सदस्यीय टोली जलविद्युत् आयोजनाको सुरुङमा परिचालित छन् । भारतीय टोलीले चिलिमे र लाङटाङ जलविद्युत् आयोजनामा नेपाली सेनासँग सहकार्य गरिरहेको छ भने चिनियाँ टोलीले माथिल्लो त्रिशूली-३ ए आयोजना क्षेत्रमा नेपाली सेनासँग समन्वय गरी खोजी गरिरहेको छ । दक्षिण कोरियाबाट पनि उद्धार टोली नेपाल आएको उनले जानकारी दिए ।

मृतकको पहिचानका लागि भारतबाट आएको १९ सदस्यीय फरेन्सिक टोलीले गत २९ अगस्टदेखि नेपाली सम्बन्धित निकायसँग काम गरिरहेको उहाँले जानकारी दिए । चीनबाट चार सदस्यीय फरेन्सिक टोली मंगलाबार साँझ नेपाल आइपुग्ने उनले जानकारी दिए । सिंगापुरबाट विपद् पीडित पहिचान टोली ल्याउने विषयमा पनि समन्वय भइरहेको उनले बताए ।

यस्तै शव फेला परेका तर तत्काल पहिचान गर्न नसकिने शवलाई फरेन्सिक प्रक्रिया र डीएनए नमुना संकलनपछि अस्थायी रूपमा जमिनमुनी व्यवस्थापन गरेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । पहिचान खुलेपछि परिवारलाई शव उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको उनको भनाई छ । बेपत्ता व्यक्तिका परिवारका सदस्यलाई नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।

विदेशी नागरिकको खोजी तथा उद्धारका लागि परराष्ट्र मन्त्रालयको आपत्कालीन नियन्त्रण कक्षले सम्बन्धित देश, नेपाली कूटनीतिक नियोग तथा बेपत्ता विदेशी नागरिकका परिवारसँग समन्वय गरिरहेको प्रवक्ता पौडेलले बताए ।

सरकारले लिडार, बेली ब्रिज, फ्रिजर, डीएनए परीक्षण किट, भारवहन उपकरण, शव राख्ने ब्याग, उच्च क्षमताका ड्रोन र जीन सिक्वेन्सरसहितका उपकरण उपलब्ध गराउन अन्तर्राष्ट्रिय साझेदारसँग अनुरोध गरेको छ ।

विपदबाट भएको क्षतिको मूल्यांकन गर्ने काम पनि सरकारले गरिरहेको छ । सरकारले बाढीपछि राहत उद्धार र पुनर्निर्माणको लागी मित्र राष्ट्रसँग कूटनीतिक रूपमा सहायता परिचालनका लागि समन्वय गरिरहेको पनि प्रवक्ता पौडेलले जानकारी दिए । उनका अनुसार परराष्ट्र मन्त्री शिशिर खनालले जापान, कतार, सिंगापुर र मलेसियाका समकक्षीसँग सोमबार टेलिफोन वार्ता गर्नुभएको थियो भने मंगलवार साँझ क्यानडाका समकक्षीसँग टेलिफोन वार्ता हुने कार्यक्रम रहेको छ ।