काठमाडौँ । १० भदौको रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण त्रिशूली ३ ‘ए’को सुरुङभित्र फसेका ललितपुरका कबिर महर्जनको शुक्रवार १० दिनपछि जीवितै उद्धार भयो ।
नेपाली सेनासहित विज्ञ र प्राविधिहरुको टोलीले महर्जनको शुक्रवार बिहान सकुशल उद्धार गरी काठमाडौँ ल्याइएको छ । उनको अहिले सैनिक अस्पताल छाउनीको आइसियु कक्षमा उपचारमा भइरहेको छ ।
श्रीमानलाई भेट्न सैनिक अस्पताल पुगेकी उनकी श्रीमती हीराशोभा महर्जनले महर्जन सकुशल फर्किँदा परिवारमा खुसीको सीमा नभएको बताइन् ।
उनले श्रीमानले सुरुमा आफूलाई चिन्न नसकेको भए पनि अहिले अवस्था ठिकै रहेको बताइन् । उनले खुट्टामा थोरै चोट र शरीर समेत पहेँलो भएको कारण चिकित्सकको निगरानीमा रहेको बताइन् ।
उनले भन्नुभयो, ‘अहिले ठिकै छ, अलिअलि बोल्नुभएको छ । आउनेबेलामा त त्यस्तो बोल्न सकिराख्नुभएको थिएन । मलाई नै चिन्नुभएन सुरुमा त । अहिले आइसियुमा राखेर उपचार भइरहेको छ । खुट्टामा थोरै चोट लागेको छ । उहाँको सबै शरीर नै पहेँलो भएको छ । उहाँ फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन । उहाँ फर्किँदा हामी एकदमै खुसि छौँ । परिवारमा सबै खुसि हुनुभएको छ । नेपाल आर्मीले उहाँको जीवन बचाइदिनुभएकोमा धन्यावाद ।’
उनी मेकानिकल सुपरभाइजर हुन् ।


प्रतिक्रिया