चन्डिकाको उद्धार आशाको किरण जगाएको छ : प्रधानमन्त्री शाह

चन्डिकाको उद्धार आशाको किरण जगाएको छ : प्रधानमन्त्री शाह


ग्लोब नेपाल
108
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नुवाकोटको बेत्रावतीमा ११ औँ दिनमा ६४ वर्षीया चन्डिका श्रेष्ठको सफल उद्धार हुनुले सिङ्गो देशलाई नै नयाँ आशा दिएको बताएका छन्।

शनिबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै उनले बाढी प्रभावित क्षेत्रमा उद्धार टोली अझै पनि निरन्तर र डटेर लागिपरेको सन्देश यस घटनाले दिएको उल्लेख गरेका छन्।

नुवाकोटको विदुर-१०, बेत्रावतीमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले ६४ वर्षीया श्रेष्ठको जीवितै उद्धार गरेको थियो। उद्धारको खबरपछि प्रधानमन्त्री शाहले राज्य संयन्त्र खोज तथा उद्धारमा अहोरात्र खटिरहेको बताउँदै यसअघि पनि प्रभावित क्षेत्रबाट सोही उमेर समूहका धेरै आमाबुबाको सफल उद्धार गरिसकिएको जानकारी दिए।

बाढीको विपत्तिमा वृद्धवृद्धाहरूले देखाएको साहसको स्मरण गर्दै उनले भने, ‘लौरो नटेकी दुई पाइला सर्न नसक्ने उमेरमा पनि आफ्ना नातिनातिना जोगाउन अनौठो हिम्मत देखाएर डाँडातिर भागेका कथा हृदयविदारक छन्। बाढीका कारण वृद्धआश्रममा बसिरहेका आमाबुबाहरू समेत विस्थापित हुनुपरेको छ।’

सङ्कटको यो कठिन घडीमा ज्येष्ठ नागरिकहरूलाई नआत्तिन आग्रह गर्दै प्रधानमन्त्रीले भनेका छन्, ‘जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौँ। हजुरहरूसँग यो राज्य र यो सरकार सधैँ साथमा छ।’