काठमाडौं, २३ भदौ । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज आङदेम्बेले ‘जेनजी’ विद्रोहको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
आन्दोलनका क्रममा जीवन गुमाएका युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र कर्तव्यपालनका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीहरूप्रति सम्मान व्यक्त गरेका छन्।
नेता आङदेम्बेले एक वर्षअघि युवाहरू भ्रष्टाचार, बेथिति, कुशासन र निराशाविरुद्ध सुशासन, पारदर्शिता र अवसरको खोजीमा सडकमा उत्रिएको स्मरण गराएका छन्। २३ भदौमा तत्कालीन सरकारबाट भएको अत्यधिक बल प्रयोग तथा २४ भदौमा भएका आगजनी, तोडफोड र विध्वंसका घटनामा संलग्न जोकसैलाई पनि राजनीतिक संरक्षण वा सत्ताको प्रभावका आधारमा उन्मुक्ति दिन नहुने कांग्रेसको स्पष्ट धारणा रहेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्ति मार्फत प्रधानमन्त्रीलाई प्रश्न गर्दै उनले युवाहरूले खोजेको सुशासन, पारदर्शिता, रोजगारी र विदेश पलायन रोक्ने ठोस कार्यक्रम कहाँ छ भन्दै जवाफ मागेका छन्। ‘जेनजी’ को बलिदानलाई सत्ता प्राप्तिको भर्याङ मात्र नबनाउन आग्रह गर्दै उनले सरकारलाई व्यक्ति नभई व्यवस्था सञ्चालनको संस्कार परिवर्तन गर्न र नागरिकका आलोचनालाई शत्रुको बोली नठान्न सचेत गराएका छन्।
सहिदको सपना कुनै दल वा व्यक्तिको निजी सम्पत्ति नभएकाले राज्यको नीति र शासन व्यवहारमै रूपान्तरण गर्न तथा घाइतेहरूको दीर्घकालीन उपचार र पुनःस्थापनाको सुनिश्चितता गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन्।


प्रतिक्रिया