प्रतिक्रियावादीले बलिदानबाट प्राप्त उपलब्धि निमिट्यान्न पार्न खोजिरहेका छन्: प्रचण्ड

प्रतिक्रियावादीले बलिदानबाट प्राप्त उपलब्धि निमिट्यान्न पार्न खोजिरहेका छन्: प्रचण्ड


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादी शक्तिहरूले आन्दोलन र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धि निमिट्यान्न पार्ने प्रयास गरिरहेको बताएका छन् ।

काठमाडौंमा आयोजित शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘बैरागी’को २७औँ स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो प्रयासविरुद्ध नयाँ संकल्प र ऊर्जाका साथ अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिमाथि चुनौती खडा भइरहेको भन्दै शहीदहरूको सपना र योगदानलाई आत्मसात् गरेर त्यसको रक्षाका लागि दृढतापूर्वक उभिनुपर्ने बताए ।

“प्रतिक्रियावादी शक्तिहरूले आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास गरिरहेका छन् । यस्तो बेला शहीदहरूको सपना र योगदानलाई आत्मसात् गर्दै नयाँ संकल्प र ऊर्जाका साथ अघि बढ्नु आवश्यक छ,” प्रचण्डले भने ।

प्रचण्डले सुरेश वाग्ले र भीमसेन पोखरेलको बलिदानले तत्कालीन राज्यसत्ताविरुद्धको आन्दोलनमा नयाँ आक्रोश र ऊर्जा पैदा गर्दै जनयुद्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको पनि स्मरण गरे ।