भूकम्पले मुस्ताङमा घर भत्किए, क्षतिको विवरण संकलन हुँदै

भूकम्पले मुस्ताङमा घर भत्किए, क्षतिको विवरण संकलन हुँदै


ग्लोब नेपाल
0
Shares

मुस्ताङ । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका केन्द्रबिन्दु भएर गएको ५.३ रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिको विवरण संकलन थालिएको छ।

मङ्गलबार राति ९:५३ बजे र बुधबार बिहान १:०३ बजे भूकम्पको धक्का महसुस भएको थियो। लोमन्थाङ आसपासका क्षेत्रमा भएको क्षतिको विवरण संकलनका लागि गाउँपालिकाका जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)सहितको टोली परिचालन गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार लोमन्थाङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। केन्द्र प्रमुख अधिकारीले भने, “भूकम्पको केन्द्रबिन्दुमा ठुलै धक्का महसुस भएको छ। भूकम्प गएको क्षेत्रमा साना–साना पराकम्प जान सक्छन्।”

करिब तीन दशकयता साविक धौलागिरि अञ्चलमा गएको सबैभन्दा ठुलो भूकम्पका रूपमा बागलुङको बोबाङलाई केन्द्रबिन्दु बनाएर गएको ४.९ रेक्टर स्केलको भूकम्पपछि पहिलोपटक मुस्ताङमा ५ रेक्टर स्केलभन्दा ठुलो भूकम्प मापन गरिएको हो।

लोमन्थाङ गाउँपालिका अध्यक्ष टसीनुर्वु गुरुङले भूकम्पबाट मानवीय क्षति नभए पनि घर चर्किएको र भत्किएको सूचना आएको बताए । उनले भने, “अहिलेसम्म भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण संकलन भएको छैन। घरहरू चर्किएको धेरै ठाउँबाट सूचना आएको छ।”

गाउँपालिकाभित्रका सबै पाँच वडाका जनप्रतिनिधिमार्फत विवरण संकलन भइरहेको अध्यक्ष गुरुङले बताए । उपल्लो मुस्ताङमा काँचो माटोबाट निर्मित घरहरू धेरै भएकाले भौतिक क्षतिको विवरण संकलनका लागि बस्तीमै पुगेर निरीक्षण गरिने उनले बताए ।

यता, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामचन्द्र तिवारीले जिल्लाभर क्षतिको विवरण संकलन भइरहेको बताए । हालसम्म लोमन्थाङ–३, फुवामा प्रयोगविहीन एउटा घर भत्किएको र एक गुम्बाको पर्खालमा क्षति पुगेको विवरण प्राप्त भएको उनले जानकारी दिए ।

भूकम्पको धक्का महसुस भएपछि उपल्लो मुस्ताङको लोमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा, पर्यटक तथा कर्मचारी घरबाहिर निस्किएर रात बिताएका थिए। भूकम्पको धक्का छिमेकी जिल्ला म्याग्दी र पर्वत आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो।