काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी युवा पुस्ताले परिकल्पना गरेको समाज निर्माण गर्न आफूहरू सफल भए नभएको विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद केसीले गत वर्ष भएको जेनजी आन्दोलन सरकार परिवर्तनका लागि नभई राज्य सञ्चालनको संस्कार परिवर्तनका लागि भएको बताए ।
उनले जेनजी आन्दोलनको मर्मअनुसार मुलुकमा विद्यमान दण्डहीनता र विधिविहीनताको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
‘जेनजी आन्दोलन कुनै दल विशेषको थिएन । यो आन्दोलन सरकार परिवर्तनको लागि नभई संस्कार परिवर्तनको लागि थियो । सरकारको शैली परिवर्तनको लागि थियो । मुलुकमा विद्यमान दण्डहीनता र विधिविहीनताको अन्त्यको लागि थियो’, उनले भने ।
जेनजी पुस्ताले परिकल्पना गरेको राज्य र समाज निर्माण गर्न आफूहरू सफल भए नभएको विषयमा गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।
‘जुन राज्य र समाज जेनजी पुस्ताले परिकल्पना गरेको थियो । वास्तवमा हामीले त्यो पूरा गर्न सकेका छौँ कि छैनौँ ? त्यतातिर गम्भीर हुनुपर्ने आवश्यकता छ’, उनले भने ।
सांसद केसीले अहिले बजारमा मल र ग्यासको हाहाकार भएको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराए । मुलुकमा प्राकृतिक विपद्समेत आइपरेको भन्दै यस्तो अवस्थामा सबै पक्ष एकै ठाउँमा उभिएर समस्या समाधान गर्नुपर्ने उनले बताए ।
‘अहिले चारैतिर हाहाकारको स्थिति छ । मलको हाहाकार, ग्यासको हाहाकार । तर अहिले यो समयमा हामी सबै एकै ठाउँमा उभिएर अहिले हामी सामु देखिएका समस्या समाधान गर्नुपर्ने आवश्यकता छ’, उनले भने ।
बाढीमा फसेका नागरिकको उद्धारमा केही कमजोरी भए पनि सरकारले गरेको कामलाई राम्रो भन्नुपर्ने उनको भनाइ थियो । यद्यपि, रसुवाको भोटेकोशीमा आएको बाढीका कारण टनेलमा फसेका नागरिकको उद्धारमा थप प्रभावकारी काम गर्नुपर्ने उनले बताए ।
‘बाढीमा फसेका नागरिकको उद्धारमा केही कमजोरी भएपनि राम्रो भएको छ । टनेलमा फसेका नागरिकको उद्धारमा केही सुधार गर्नुपर्ने आवश्यकता पनि छ’, उनले भने ।
प्राकृतिक विपद्को सामना गर्न सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा सांसद केसीले जोड दिए ।


प्रतिक्रिया