काठमाडौं । नेपाल एसीसी प्रिमियर कप २०२६ को फाइनलमा पुगेको छ । सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा युएइसँगको भेट पक्का गरेको हो । अर्को समूहबाट युएइले हङकङलाई ३ विकेटले पराजित गरेर फाइनलमा पुगेको छ ।
नेपालले दिएको १४८ रनको सामान्य लक्ष्य ओमानले भेट्न सकेन । २८ ओभर १ बल खेल्दा ओमानले सबै विकेट गुमाएर मात्र ६० रन जोड्न सक्यो । ओमानलाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले तथा दीपेन्द्र ऐरेले ३–३ विकेट लिएका थिए । यसैगरी रोहित पौडेल र ललित राजवंशीले २–२ विकेटमा आफ्नो नाम लेखाए । ओमानका लागि ओपनर ब्याट्सम्यान जितेन्द्र सिंहले २५ र जितेन रामानन्दीले १३ रनको योगदान दिएका थिए । अन्य ब्याट्सम्यानले कसैले पनि दोहोरो अंकको रन जोड्न सकेनन् ।
मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा अलआउट हुँदा १४७ रन मात्र बनाउन सक्यो ।
दीपेन्द्रसिंह ऐरी र बसिर अहमदबाहेक कुनै पनि ब्याटर चलेनन् । नेपालको शीर्ष क्रम चल्नै सकेन । मध्यक्रममा बसिर र दीपेन्द्रले १४७ बलमा ९३ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक अवस्थामा पुर्याएका हुन् । नेपालले ११.२ ओभरमा ३६ रन जोड्दा चार विकेट गुमाएको थियो । त्यसपछि क्रिजमा आएका दीपेन्द्र र बसिरले लामो साझेदारी गरे ।
३५.५ ओभरमा बसिर आउट हुँदा नेपालले १२९ रन जोडेको थियो । १३० रन बनाउँदा दीपेन्द्र पनि आउट भएपछि कुनै पनि ब्याटर क्रिजमा टिक्नै सकेनन् । दीपेन्द्रले ७६ बलमा चार चौकासहित सर्वाधिक ५१ रन बनाए । बासिरले ८८ बलमा तीन चौका र १ छक्कासहित ४७ रन बनाएर आउट भएका हुन् ।
यसअघि ओपनर देव खनाल १३, आसिफ शेख ११, इशान पाण्डे १, रोहितकुमार पौडेल ३ रन बनाएर आउट भएका थिए । त्यस्तै अलराउण्डर गुल्शन झा ७, करण केसी ५, कप्तान सन्दीप लामिछाने ३ रन बनाएर आउट भएका थिए ।
ओमानका बलर जयविक्रम ओदेदारा र हस्नैन शाहले समान ३–३ विकेट लिएका थिए । मुहम्मद इमरामनले दुई तथा शाकिल अहमद तथा मुजिबर अलीले समान एक–एक विकेट लिएका हुन् । नेपाल समूह ‘ए’ को विजेता तथा ओमान समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेका हुन् ।


प्रतिक्रिया