आर्थिक अभावले सुत्केरी सेवा नपाएको घटनाप्रति महिला संगठनको आपत्ति

आर्थिक अभावले सुत्केरी सेवा नपाएको घटनाप्रति महिला संगठनको आपत्ति


ग्लोब नेपाल
243
Shares

राजविराज । सप्तरीको राजविराजमा आर्थिक अभावका कारण एक सुत्केरी महिलाले स्वास्थ्य सेवा पाउन नसकेको घटनाप्रति जय नेपाल पार्टीनिकट नेपाल महिला संगठनले गम्भीर आपत्ति जनाएको छ।

संगठनले स्वास्थ्यकर्मीको निगरानी र सहयोगबिना नै महिलाले बच्चा जन्माउनुपर्ने अवस्था दुःखद र संवेदनशील विषय भएको जनाएको छ। प्रसव पीडामा रहेकी महिलाले अस्पतालको ढोकामै उपचारका लागि संघर्ष गर्नुपर्ने अवस्था आउनु राज्य र सम्बन्धित निकायको जिम्मेवारीमाथि गम्भीर प्रश्न भएको संगठनको भनाइ छ।

नेपाल महिला संगठनले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत तथा संविधानप्रदत्त अधिकार भएको उल्लेख गर्दै आर्थिक अभावकै कारण कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुन नहुने जनाएको छ।

संगठनकी सभापति चाहना (चम्पा) अधिकारीले घटनाको तत्काल न्यायिक छानबिन गरी दोषी देखिएकामाथि कानुनअनुसार कारबाही गर्न सरकारसँग माग गरेकी छन्।

त्यस्तै, पीडित महिला र उनको परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउँदै उनीहरूको स्वास्थ्य र हितका लागि सरकारले तत्काल पहल गर्नुपर्ने संगठनले जनाएको छ।

महिलामाथि हुने अन्यायविरुद्ध आवाज उठाउँदै उनीहरूको सम्मान, सुरक्षा र अधिकारका लागि निरन्तर काम गर्ने प्रतिबद्धता पनि नेपाल महिला संगठनले जनाएको छ।