काठमाडौँ। एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई)बीच प्रतिस्पर्धा भइरहेको छ ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा नेपालले युएईलाई ३१४ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा ३१३ रन बनाएको छ ।
नेपालका लागि बलियो योगफल खडा गर्न ओपनर आसिफ शेखले शतकीय इनिङ्स खेले । १०६ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गर्दै १०२ रन जोडे ।
यस्तै, गुलशन झाले ५२ रनको अर्धशतकीय पारी खेले । अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दीपेन्द्र सिंह ऐरीले १८ रन जोडे । बसिर अहमद १५ रनमा अविजित रहे ।
बलिङतर्फ युएईका इबरार अहमदले चार विकेट लिए । यस्तै, खुजैमा तनवीरले दुई तथा हैदर अली र अदीव उस्मानीले एक–एक विकेट लिए ।


प्रतिक्रिया