माथिल्लो त्रिशूली–१ को सुरूङमा थप सात शव फेला

माथिल्लो त्रिशूली–१ को सुरूङमा थप सात शव फेला


ग्लोब नेपाल
0
Shares

रसुवा । भोटेकोशी बाढीपछि बेपत्ताको खोजी भइरहेको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरूङबाट शुक्रबार थप सात जनाको शव निकालिएको छ ।

उद्धार तथा खोजीमा खटिएको टोलीले सुरूङभित्र खोजी गर्ने क्रममा ती शव फेला पारेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जनाएको छ ।

इप्पानका अनुसार तालिमप्राप्त खोजी कुकुरले बिहीबार साँझ नै सुरूङभित्र शव रहेको संकेत गरेको थियो । त्यसपछि उद्धार टोलीले शुक्रबार सोही क्षेत्रमा केन्द्रित भएर खोजी गर्दा सात जनाको शव भेटिएको हो ।

यससँगै आयोजनाको सुरूङबाट विभिन्न चरणमा फेला पारिएको शवको संख्या १८ पुगेको छ । यसअघि उद्धार टोलीले ११ वटा शव फेला पारेको थियो । यसै क्रममा आयोजनाको सुरूङभित्रबाट एक जना चिनियाँ नागरिकलाई भने जीवितै उद्धार गरिएको थियो ।

बाढीपछि आयोजनाभित्र ठूलो संख्यामा मानिस फसेको आशंकामा खोजी तथा उद्धार अभियान जारी छ । आयोजनाभित्र करिब ३०० जना फसेको हुन सक्ने अनुमानका आधारमा उद्धार टोलीले थप खोजी गरिरहेको इप्पानले जनाएको छ ।