काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेसी राष्ट्रिय टोलीको जर्सीमा अन्तिमपटक मैदान उत्रिने भएका छन् । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका मेसीलाई अर्जेन्टिना फुटबल संघले आगामी ६ अक्टोबरमा हुने मैत्रीपूर्ण खेलका लागि टोलीमा समावेश गरेको छ ।
ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा हुने खेलमा अर्जेन्टिनाले बेनिनसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेललाई मेसीको राष्ट्रिय टोलीसँगको औपचारिक विदाइका रूपमा खेलाइने भएको हो ।
अर्जेन्टिना फुटबल संघका अध्यक्ष क्लाउडियो तापियाले सामाजिक सञ्जालमार्फत मेसीको विदाइको पुष्टि गरेका छन् । उनका अनुसार मेसीलाई उनले पाउनुपर्ने सम्मानसहित बिदाइ गर्न टोलीमा बोलाइएको हो ।
मेसीले पनि उक्त खेल खेल्ने निमन्त्रणा स्वीकार गरेका छन् । सन् २०२२ को विश्वकप जिताउने अर्जेन्टिनी टोलीका खेलाडी तथा उनीहरूका परिवारलाई समेत उक्त खेलमा आमन्त्रण गरिने भएको छ ।
मेसीले गत ३१ अगस्टमा सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका थिए । त्यसपछि ६ अक्टोबरमा बेनिनविरुद्ध हुने खेल राष्ट्रिय टोलीका लागि उनको अन्तिम खेल बन्ने भएको हो ।
मोनुमेन्टल रंगशालामा हुने उक्त खेल अर्जेन्टिनाको सेप्टेम्बर–अक्टोबर अन्तर्राष्ट्रिय खेल अवधिको तेस्रो घरेलु मैत्रीपूर्ण खेल हुनेछ। अर्जेन्टिनाले यसअघि ३० सेप्टेम्बरमा कोर्डोबामा बोलिभियासँग तथा ३ अक्टोबरमा ब्युनस आयर्समै बुर्किना फासोसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
तर ६ अक्टोबरको खेल भने अर्जेन्टिनाका समर्थकका लागि विशेष हुनेछ । उक्त दिन समर्थकहरूले राष्ट्रिय जर्सीमा आफ्नो फुटबल इतिहासकै चर्चित खेलाडीमध्ये एक मेसीलाई अन्तिमपटक मैदानमा देख्नेछन् ।
मेसीले सन् २००५ मा अर्जेन्टिनाका लागि राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। त्यसयता उनले टोलीका लागि थुप्रै कीर्तिमान कायम गरेका छन् । उनी अर्जेन्टिनाका लागि सबैभन्दा धेरै खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।
राष्ट्रिय टोलीबाट उनको यात्रा समाप्त भए पनि मेसीको व्यावसायिक फुटबल यात्रा भने जारी रहनेछ । उनी अमेरिकी क्लब इन्टर मियामीबाट क्लब फुटबल खेलिरहेका छन् ।


प्रतिक्रिया