बालबालिकासम्बन्धी दुईवटा रियालिटी शो एक साथ सुरु हुँदै

बालबालिकासम्बन्धी दुईवटा रियालिटी शो एक साथ सुरु हुँदै


ग्लोब नेपाल
0
Shares

काठमाडौं । बालबालिकाको प्रतिभालाई बाहिर ल्याउने दुई रियालिटी शो एकसाथ सुरु हुने भएको छ । 

एएनपी मिडिया हाउसले बालबालिकाबीचको डान्स रियालीटी शो नेशन्स गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) सिजन ३ र गायन प्रतियोगिता जुनियर सिङ्गिङ आइडल नेपाल सिजन २ आगामी असोज ३ गते शनिबारदेखि एकसाथ सुरु गरिन लागेको हो ।

सातदेखि १३ वर्ष उमेर समूहका बालबालिकाको सहभागिता रहने दुवै कार्यक्रमको छायांकन एपी वान टेलिभिजनको स्टुडियोमा हुनेछ । कार्यक्रम एपी वान टेलिभिजनबाट प्रसारण हुने आयोजक संस्था एएनपी. मिडिया हाउसका प्रवन्ध निर्देशक लबबहादुर कार्कीले जानकारी दिए । 

डान्सतर्फको कार्यक्रम ओएसआर रियालिटी युट्युब च्यानल र सिङ्गिङतर्फको कार्यक्रम एभेनटोज डिजिटल युट्युब च्यानलबाट पनि प्रसारण हुने उनले जानकारी गराए । दुवै कार्यक्रमको भोटिङ पार्टनर एभेनटोज कम्पनी रहेको छ ।

गत वैशाखदेखि उपत्यकाको विभिन्न स्थानीयस्तरमा सञ्चालन गरिएको अडिसनमा डान्सतर्फ करिब सात सय र सिङ्गिङतर्फ चार सय बालबालिकाले सहभागिता जनाएका थिए । स्थानीय अडिसनबाट छनोट भएका डान्सतर्फका १८० र सिङ्गिङतर्फका १४० बालप्रतिभाले अब मेगा अडिसनमा प्रतिस्पर्धा गर्नेछन् ।

नेशन्स गट ट्यालेन किड्स डान्सको मेगा अडिसनका निर्णायकमा निर्देशक तथा कोरियोग्राफर केशवराज भट्ट, कलाकार तथा मोडल राज टाइगर र मोडल कविता न्यौपाने छन् । जुनियर सिङ्गिङ आइडल नेपालको मेगा अडिसनमा संगीतकार तथा गायक राजेन्द्र बजगाईं, गायिका रीता केसी र गायिका सारिका घिमिरे निर्णायकका रूपमा रहनेछन् ।

मेगा अडिसनपछि निर्णायकको छनोटबाट ६० र दर्शकको भोटिङबाट २० गरी दुवै विधाबाट कुल ८० बालप्रतिभा टेलिभिजन राउण्डमा प्रवेश गर्नेछन् । डान्सको टेलिभिजन राउण्डमा अभिनेत्री मिथिला शर्मा, वरिष्ठ नृत्य निर्देशक कमल राई र मोडल सरोज प्रजा निर्णायक रहनेछन् । सिङ्गिङतर्फ गायिका कुन्ती मोक्तान, गायक आनन्द कार्की र संगीतकार तथा गायक वसन्त सापकोटा निर्णायकका रूपमा रहनेछन् ।