उपमेयर शेर्पा र वडाध्यक्ष प्रधान एमालेबाट निष्कासित

उपमेयर शेर्पा र वडाध्यक्ष प्रधान एमालेबाट निष्कासित


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेकपा एमालेले भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । उनीसँगै भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानलाई पनि पार्टीबाट निष्कासन गरिएको छ ।

एमाले कोशी प्रदेश कमिटीका पदाधिकारीको बैठकले शेर्पा र प्रधानलाई कारबाही गर्ने जिल्ला कमिटीको सिफारिस अनुमोदन गर्दै थप अनुमोदनका लागि केन्द्रीय कमिटीमा सिफारिस गरेको हो ।

एमाले कोशी प्रदेश कमिटीका अनुसार जिल्ला कमिटीबाट कारबाहीका लागि सिफारिस भएर आएपछि प्रदेश कमिटीले त्यसलाई अनुमोदन गरेको हो ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट भोजपुर नगरपालिकाको उपप्रमुखमा निर्वाचित शेर्पामाथि पार्टीविरुद्ध निरन्तर अभिव्यक्ति दिएको तथा पार्टी हितविपरीत गतिविधि गरेको आरोप लगाइएको छ । उनी एमाले कोशी प्रदेश कमिटी सदस्यसमेत थिइन् ।

शेर्पालाई कारबाहीका लागि एमाले भोजपुर जिल्ला कमिटीले गत साउन ८ गते प्रदेश कमिटीसमक्ष सिफारिस गरेको थियो । सोही आधारमा प्रदेश कमिटीले कारबाहीको निर्णय गरेको हो ।

यस्तै, भोजपुर नगरपालिका–८ का वडाध्यक्ष प्रधानलाई पनि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ । प्रधान एमाले भोजपुर जिल्ला कमिटी सचिवालय सदस्यसमेत थिए । उनको हकमा जिल्ला कमिटीले गरेको कारबाहीको सिफारिस प्रदेश कमिटीले अनुमोदन गरेको हो ।

पार्टीबाट निष्कासन भएपछि दुवै जनाको निर्वाचित जनप्रतिनिधिको पदसमेत प्रभावित हुने अवस्था सिर्जना भएको छ । एमालेले उनीहरूलाई स्थानीय तहको जिम्मेवारीबाट समेत पदमुक्त गराउन आवश्यक प्रक्रिया अघि बढाउन थालेको जनाएको छ ।