काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील क्षेत्रमा रहेको बताएकी छन् ।
शनिवार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले विशाल जनसङ्ख्या र विकसित मुलुकहरूको बीचमा नेपाल रहेको भन्दै देशका समस्या र आवश्यकताप्रति संवेदनशील हुनुपर्ने बताएकी हुन् ।
उनले नेपाल उत्तर र दक्षिणतर्फका ठूला छिमेकी मुलुकहरूको बीचमा रहेको उल्लेख गरिन् । नेपालको जनसङ्ख्या करिब तीन करोड रहेको र दक्षिण तथा उत्तरतर्फका छिमेकी मुलुकको जनसङ्ख्या निकै ठूलो रहेको उल्लेख गर्दै उनले नेपालको भौगोलिक अवस्थिति र यसको संवेदनशीलतालाई दीर्घकालीन नीतिका माध्यमबाट सम्बोधन गर्नुपर्नेमा जोड दिइन् ।
पूर्वराष्ट्रपति भण्डारीले प्राकृतिक सुन्दरता र महत्त्वका हिसावले नेपाल सम्पन्न भएपनि विपद् तथा अन्य समस्याको दीर्घकालीन समाधान गर्न नसक्दा पटक–पटक तत्कालीन समस्या झेल्नुपरेको बताइन् ।
उनले भनिन्, ‘भौगोलिक रूपले मात्रै होइन कि राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ । ठूलाठूला विशाल जनसङ्ख्या भएको धेरै विकास गरेका देशहरूको बिचमा छौँ । हाम्रा आवश्यकताहरू, हाम्रा समस्याहरू उहाँहरूले अलिकति दुई जनाले दुईतिरबाट अलिकति हात उठाइदिनुभयो भने सबै समस्या समाधान हुने जस्तो । हामी करिब ३ करोड जनसङ्ख्यामा हौँला । ’
नेपाल भौगोलिक तथा राजनीतिक रूपमा संवेदनशील क्षेत्रमा रहेकाले विपद् व्यवस्थापनसहित दीर्घकालीन समस्या समाधानमा राज्यको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया