न्युयोर्क । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका छन् । प्रधानमन्त्री शाहलाई न्युयोर्कस्थित नेपाली दूतावासका कर्मचारीहरूले स्वागत गरेका छन् ।
उनी मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै न्युयोर्कका लागि प्रस्थान गरेका थिए । प्रधानमन्त्री शाहले बिहीबार राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
सम्बोधनका क्रममा उनले पछिल्लो भोटेकोशी बाढीबाट नेपालमा भएको ठूलो जनधनको क्षति, जलवायु परिवर्तनको असर, जलवायु न्याय तथा जलवायुजन्य क्षतिका लागि अन्तर्राष्ट्रिय सहयोग र क्षतिपूर्तिको विषय उठाउने तयारी छ ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार यो भेट पनि असोज ८ मै हुने तय भएको छ ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपालले जलवायु परिवर्तनका कारण हिमाली तथा कम कार्बन उत्सर्जन गर्ने मुलुकले भोगिरहेको असर, जलवायु वित्त, प्रविधि हस्तान्तरण र ‘लस एन्ड ड्यामेज’ कोषबाट सहयोगको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्ने तयारी गरेको छ ।
प्रधानमन्त्री शाहको भ्रमण मुख्यतः राष्ट्रसंघको महासभामा सहभागिता र सम्बोधनमा केन्द्रित रहनेछ । उनी अन्य विदेशी सरकार वा राष्ट्रप्रमुखसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम नरहेको अधिकारीहरूले बताएका छन् ।
प्रधानमन्त्री शाहसँग परराष्ट्रमन्त्री शिशिर खनाल, प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृत राईलगायत अधिकारीहरू छन् । परराष्ट्रमन्त्री खनाल प्रधानमन्त्रीभन्दा अगावै न्युयोर्क पुगिसकेका छन् ।
प्रधानमन्त्री शाह महासभाका कार्यक्रम सकेर १० असोजमा नेपाल फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया