हिमाली क्षेत्रमा भारी हिमपात, भोटेकोशी क्षेत्रमा रेड अलर्ट

हिमाली क्षेत्रमा भारी हिमपात, भोटेकोशी क्षेत्रमा रेड अलर्ट


ग्लोब नेपाल
81
Shares

काठमाडौं । बङ्गालको खाडीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा भारी वर्षा र हिमाली क्षेत्रमा भारी हिमपात भइरहेको छ। उच्च हिमाली क्षेत्रमा हिउँ हुरीसँगै हावाको वेग ५० नटसम्म पुगेको मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार सुदूरपश्चिम, कर्णाली र बागमतीका उच्च हिमाली क्षेत्रमा तापक्रम माइनस २७ डिग्री सेल्सियससम्म झरेको छ। गण्डकीमा माइनस २६ र कोशीमा माइनस २५ डिग्री सेल्सियससम्म तापक्रम रेकर्ड भएको छ।

सगरमाथा क्षेत्रमा बुधबारदेखि सुरु भएको हिमपात बिहीबार पनि जारी छ। आधार शिविरस्थित पिरामिड प्रयोगशाला आसपास दुई फिटभन्दा बढी हिउँ जमेको छ। अन्नपूर्ण, मनास्लु, धौलागिरि र कञ्चनजङ्घालगायत हिमाली क्षेत्रमा पनि भारी हिमपात भएको छ।

विभागका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिमका सात हजार मिटरभन्दा माथिका क्षेत्रमा हावाको वेग ५० नटसम्म पुगेको छ। कोशी र बागमतीका सोही उचाइका क्षेत्रमा ४० नटसम्म हावा चलेको छ।

देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। तराईका केही क्षेत्रमा हावाहुरीको समेत सम्भावना छ।

भोटेकोशी हिमबाढी प्रभावित क्षेत्रमा शुक्रबार भारी वर्षाको प्रबल सम्भावना रहेकाले रेड अलर्ट जारी गरिएको छ। वर्षासँगै बाढी, गेग्रान बहाव, पहिरो र भूक्षयको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

मौसमका कारण कृषि, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने विभागले जनाएको छ।