काठमाडौं। हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै, भारतको उत्तर महाराष्ट्र तथा छत्तीसगढ प्रदेश आसपासमा बलियो न्यून चापीय प्रणाली अवस्थित छ। यो प्रणाली उत्तर-उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर हुँदै जाने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर अधिकांश भू-भागमा बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर अधिकांश बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका अधिकांश स्थानमा र कोशी तथा बागमती प्रदेशका हिमाली एवं पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका अधिकांश स्थानका साथै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।
राति भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली तथा कोशी र मधेश प्रदेशमा साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा र कोशी प्रदेशका हिमाली एवं पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा मधेश र कोशी प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्सहित मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।
सचेतनामूलक सूचना:
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। भारीदेखि अति भारी वर्षा र हावाहुरीका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले अनुरोध गरेको छ।
यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात र उद्धार तथा राहत कार्यमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र महाशाखाको पछिल्लो सूचनामा अद्यावधिक रहन सबैमा आग्रह गरिएको छ।


प्रतिक्रिया