नेपाली कांग्रेस रुपन्देहीको वडा र पालिका अधिवेशन सम्पन्न

नेपाली कांग्रेस रुपन्देहीको वडा र पालिका अधिवेशन सम्पन्न


ग्लोब नेपाल
0
Shares

 भैरहवा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत रुपन्देही जिल्लामा वडा तथा पालिका तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ। केन्द्रद्वारा खटाइएका प्रतिनिधि र जिल्ला नेतृत्वको समन्वयमा सम्पन्न  निर्वाचन प्रक्रिया अन्तर्गत जिल्लाका कूल १५५ वटा वडाहरू र १६ वटा पालिकाहरूमा नयाँ नेतृत्व चयन कार्य पूरा भएको हो।

गत असोज ४ गते १५२ वटा वडाहरूमा एकैसाथ निर्वाचन सम्पन्न भएको थियो भने विविध कारणले रोकिएका बाँकी ३ वटा वडाहरूमा असोज ६ गते मतदान प्रक्रिया पूरा गरी १५५ वटै वडाको निर्वाचन सम्पन्न गरिएको थियो। त्यसैगरी असोज ७ र ८ गते गरी दुई दिनमा जिल्लाका सबै १६ वटा पालिकाहरूको निर्वाचन समेत सम्पन्न भइसकेको निर्वाचन समितिका संयोजक रामचन्द्र गौतमले जानकारी दिए ।

प्राप्त अन्तिम परिणाम अनुसार रुपन्देहीका १५५ वटा वडाहरूमध्ये १३१ वटा वडामा सर्वसम्मत अर्थात् निर्विरोध नेतृत्व चयन भएको छ भने बाँकी २४ वटा वडाहरूमा प्रतिस्पर्धात्मक चुनावी प्रक्रियामार्फत नेतृत्व छानिएको छ। वडा तहको निर्वाचनबाट समग्र रुपन्देही जिल्लाभरिबाट कूल ४,२०६ जना क्षेत्रीय प्रतिनिधिहरू निर्वाचित भएका छन।

समावेशी क्लस्टर अनुसार क्षेत्रीय प्रतिनिधिहरूमा ९८४ जना महिला, १८१ जना दलित, २४३ जना युवा, १४७ जना अपाङ्गता भएका व्यक्ति, १५५ जना श्रमिक, ७८ जना मुस्लिम, १८४ जना आदिवासी जनजाति, १५१ जना अल्पसंख्यक र २७८ जना मधेसी समुदायका प्रतिनिधिहरू रहेका छन।  त्यसैगरी पालिका तहको निर्वाचनमा १६ वटा पालिकाहरूमध्ये ७ वटा पालिकामा सर्वसम्मत रूपमा निर्विरोध नेतृत्व चयन भएको छ भने ९ वटा पालिकाहरूमा चुनावी प्रतिस्पर्धाबाट नेतृत्व चुनिएको छ।

क्षेत्रगत रूपमा हेर्दा क्षेत्र नम्बर १ को क बाट ४४६ र ख बाट ४२० गरी जम्मा ८६६ जना, क्षेत्र नम्बर २ को क बाट ४०० र ख बाट ४५५ गरी जम्मा ८५५ जना, क्षेत्र नम्बर ३ को क बाट ४५६ र ख बाट ४८० गरी जम्मा ९०६ जना, क्षेत्र नम्बर ४ को क बाट ४२० र ख बाट ३९८ गरी जम्मा ८१८ जना तथा क्षेत्र नम्बर ५ को क बाट ४०९ र  ख बाट ३५२ गरी जम्मा ७६१ जना क्षेत्रीय प्रतिनिधिहरू निर्वाचित भएका छन।  अब हुने प्रदेश सभा क्षेत्रीय कमिटी क र ख तथा प्रतिनिधि सभा क्षेत्रीय निर्वाचनको लागि केन्द्रीय निर्वाचन समितिको निर्देशन र तालिका अनुसार आवश्यक तयारी पूरा भइसकेको निर्वाचन समितिका संयोजक गौतमले जानकारी दिए ।

प्रतिकूल मौसम र निरन्तरको वर्षाका कारण पूर्व निर्धारित असोज १० गतेको तालिकामा केही संशोधन गरी असोज ११ गते प्रदेश स्तरीय क्षेत्र क र ख को तथा असोज १३ गते प्रतिनिधि सभा क्षेत्रको निर्वाचन गर्ने निर्णय गरिएको छ। वर्षा र मौसमको अनुकूलता-प्रतिकूलतालाई हेरेर आवश्यकता अनुसार थप निर्णय गरी तुरुन्त जानकारी गराइने भए तापनि निर्वाचन टोली, जिल्ला कार्यसमिति र पार्टी नेतृत्व पूर्ण रूपमा तयारी अवस्थामा रहेको छ। यस पटकको वडा तथा पालिका तहको निर्वाचनमा युवा पुस्ताको उत्साहजनक सहभागिता र आकर्षण देखिएकाले पार्टीमा नयाँ ऊर्जा थपिएको छ। 

 १६ वटै स्थानीय तहमा अधिवेशन सम्पन्न 

नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्तर्गत रुपन्देहीका १६ वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । जिल्लाका १५ पालिकामा बुधवार र शुद्धोदन गाउँपालिकामा बिहीबार अधिवेशन सम्पन्न भएको निर्वाचन सहायक अधिकृत माधव प्रसाद घिमिरेले जानकारी दिए । 

घिमिरेका अनुसार अधिवेशनबाट बुटवल उपमहानगरपालिकाको सभापतिमा ज्योति भण्डारी, तिलोत्तमा नगरपालिकामा नारायण ढकाल, सिद्धार्थनगर नगरपालिकामा देवराज न्यौपाने, सैनामैना नगरपालिकामा विमल ज्ञवाली ,देबदह नगरपालिकामा अमर लामिछाने र लुम्बिनी सांस्कृतिक नगरपालिकामा वीरेन्द्र बहादुर त्रिपाठी नेपाली काँग्रेसको सभापति पदमा निर्वाचित भएका छन् । 

त्यस्तै गाउँपालिकातर्फ कञ्चनमा टेकबहादुर गुरुङ,ओमसतियामा अखिलेश्वर पाण्डे   मायादेवीमा अकलेस यादव, कोटहीमाईमा राजेन्द्र प्रसाद यादव,गैडहवामा योगेन्द्र प्रसाद चौधरी, रोहिणीमा अकवाल खा , सियारीमा सूर्यनारायण यादव ,मर्चवारीमा  जनार्दन यादव, सम्मरीमाईमा नागेन्द्र सिंह र शुद्धोदनमा दामोदर पौडेल निर्वाचित भएका छन । 

नेपाली काँग्रेस रुपन्देही १५ औँ अधिवेशन निर्वाचन समितिका यस अघि असोज ४ गते रुपन्देहीका १५५ वडामा निर्वाचन सम्पन्न भई वडा सभापति चयन भई सकेका छन् ।  पालिका अधिवेशनसँगै रुपन्देही काँग्रेसको स्थानीय तहमा नयाँ नेतृत्व चयन भएको छ । अब  वडा अधिवेशन बाट निर्वाचित भएका वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरूले प्रदेश निर्वाचन कार्यसमिति चयन गर्नेछन्, उक्त समितिले  क्षेत्रीय समिति र  महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउने छ ।