४ वटा संसदीय समितिको बैठक बस्दै

४ वटा संसदीय समितिको बैठक बस्दै


ग्लोब नेपाल
0
Shares

काठमाडौं । सङ्घीय संसद्अन्तर्गतका चार वटा संसदीय समितिको बैठक आज बुधबार बस्दै छ। आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो।

बिहान ८:३० बजे बस्ने अर्थ समितिको बैठकमा नेपालको पूँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय एवं लगानीमैत्री बनाउने विषयमा छलफल हुनेछ। बैठकमा धितोपत्र निष्काशन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षणका सम्बन्धमा सम्बद्ध निकाय र सङ्घ-संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यसूची तय गरिएको छ।

यसैगरी, बिहान ९:३० बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ। बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका कैदीबन्दीहरू र बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थाबारे तयार पारिएको निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ उपर छलफल गरी पारित गर्ने र उक्त प्रतिवेदन सदनमा पेस गर्ने विषयमा छलफल हुनेछ।

त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। उक्त बैठकमा संयुक्त राष्ट्रसङ्घीय जलवायुसम्बन्धी सम्मेलन (कोप-३१) को तयारी तथा कृषि, वन तथा वातावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका कामकारबाहीबारे छलफल हुने कार्यसूची छ। विधायन व्यवस्थापन समितिको बैठकमा भने ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल हुने जनाइएको छ।