काठमाडौं । सङ्घीय संसद्को चालु अधिवेशन असोज १६ गतेदेखि अन्त्य हुने गरी अन्त्यका लागि सिफारिस भएको छ । मन्त्रीपरिषद्को मङ्गलबारको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । अधिवेशनको आह्वान र अन्त्य मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अधिवेशन अन्त्यका लागि सिफारिस भएको बताइन । असोज १६ गतेदेखि अन्त्य हुने गरी सिफारिस भएको उनले जानकारी दिइन । सङ्घीय संसद्को चालु अधिवेशन वैशाख २८ गतेबाट सुरु भएको थियो । चालु अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गरेको थियो ।
यस्तै अध्यादेश प्रतिस्थापनका छ वटा विधेयक पारित र प्रमाणीकरण भएका छन् । वैकल्पिक वित्त परिचालन विधेयक, नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने विधेयक पनि पारित र प्रमाणीकरण भएका छन् । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पनि प्रमणीकरण भएको छ । प्रतिनिधि सभामा दसभन्दा बढी विधेयक समितिहरूमा विभिन्न चरणमा विचाराधीन छन् ।


प्रतिक्रिया