काभ्रे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सच्चा कम्युनिस्ट शक्तिबीच एकता र संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिबीच सहकार्यको प्रस्ताव अघि सारेका छन् ।
काभ्रेमा पार्टीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आगामी दिनमा सदन र सडकको संघर्षमा सहकार्य गर्दै आवश्यकताअनुसार निर्वाचनमा समेत सहकार्यको आधार निर्माण गर्नुपर्ने बताए ।
‘बदलिएको परिस्थितिमा पुरानै तरिकाले अघि बढेर हुँदैन,’ प्रचण्डले भने, ‘सच्चा कम्युनिस्ट शक्तिहरूबीच पार्टी एकता र संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूबीच सहकार्य गर्दै अघि बढ्नुपर्छ ।’
उनले पछिल्लो राजनीतिक परिस्थितिमा देशलाई असाधारण संकटतर्फ धकेल्ने प्रयास भइरहेको दाबी गर्दै संविधान र गणतन्त्रको पक्षमा थप दृढतापूर्वक संघर्ष गर्नुपर्ने बताए । प्रचण्डले बदलिएको परिस्थितिअनुसार माओवादी केन्द्रले समेत आफूलाई रूपान्तरण गर्नुपर्ने बताएका छन् ।
पछिल्लो केन्द्रीय समिति बैठकले नेतृत्वमा युवाको सहभागिता ५० प्रतिशतसम्म पुर्याउने निर्णय गरेको जानकारी दिँदै उनले महाधिवेशनमार्फत वैचारिक बहस र पार्टी पुनर्संरचनाको प्रक्रिया अघि बढाउने बताए ।
उनले पार्टीले जनताका तत्कालीन समस्यालाई पनि राजनीतिको केन्द्रमा राख्नुपर्ने बताए। महँगी, बेरोजगारी, भ्रष्टाचार, सुशासनको अभाव तथा गरिब, सुकुम्बासी र मजदुरका समस्यालाई प्राथमिकताका साथ उठाउनुपर्ने उनको भनाइ छ ।
गणतन्त्र आएपछि मुलुकमा केही पनि नभएको भन्ने भाष्य तथ्यसँग मेल नखाने दाबी गर्दै प्रचण्डले आफ्नो नेतृत्वमा भएका सरकारका कामको समेत वस्तुनिष्ठ समीक्षा गर्न आग्रह गरे । शान्ति प्रक्रिया, गणतन्त्र कार्यान्वयन, संविधान निर्माण, संघीयता कार्यान्वयन र स्थानीय तहको निर्वाचनलाई उनले राजनीतिक उपलब्धिका रूपमा उल्लेख गरे ।
आफ्नो दोस्रो कार्यकालमा लोडसेडिङ अन्त्य गर्ने दिशामा निर्णायक काम भएको तथा पूर्वाधार र पुनर्निर्माणका क्षेत्रमा पनि काम अघि बढेको उनले बताए । तेस्रो कार्यकालमा सुशासन, सामाजिक न्याय, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह सुधार र अर्थतन्त्र सुधारलाई प्राथमिकतामा राखेर काम गरिएको उनको दाबी थियो ।
प्रचण्डले नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र विकासका लागि छिमेकी तथा मित्रराष्ट्रसँगको सम्बन्धलाई सन्तुलित ढंगले अघि बढाउनुपर्ने पनि बताए ।


प्रतिक्रिया